‘ओलीको नेता प्रचण्ड, प्रचण्डको नेता ओली’



 

 

 

एमाले-माओवादी केन्द्र तालमेलका सूत्रधार मध्येका एक हुन् जनार्दन शर्मा । अघिल्लो दिनसम्म एकअर्कालाई गाली गलौज गर्ने केपी शर्मा ओली र प्रचण्डबीच यो एकता कसरी सम्भव भयो भनेर हामीले तिनै शर्मासँग कुराकानी गरेका छौंः

एमाले र माओवादीबीच तिक्ततापूर्ण सम्बन्ध थियो । दशैंको बेलामा एकाएक सरप्राइज दिनुभयो त ?

अहिलेको माओवादी केन्द्र र एमाले, कम्युनिस्ट पार्टीका दुई शाखाका रुपमा छन् । एक कालमा अहिलेको माओवादी तत्कालीन चौथो महाधिवेशन समूहमा थियो । अहिलेको एमाले त्यतिबेला कोअर्डिनेसन केन्द्र थियो, चौमले त्यसलाई उग्रपन्थी भन्यो । अर्को एउटा काल आयो, त्यो चौमलाई तत्कालीन मालेले उग्रपन्थी भन्यो । हुन त, सशस्त्र विद्रोह भनेर झापा आन्दोलन अहिले एमालेमा भएका नेताहरुले गरेका हुन् । हामीले जनयुद्ध गर्‍यौं । त्यसरी हेर्दा सशस्त्र क्रान्ति दुवैले गरेका थिए ।

तर, जनयुद्ध, जनआन्दोलन हुँदै नयाँ संविधान बनाएर यहाँसम्म आइपुग्दा दुवै पार्टीका सैद्धान्तिक र बैचारिक आधार एउटै जस्तो हुन पुगेको छ । मुलतः नयाँ संविधानका संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीतालगायत विषयमा सहमति बन्न पुग्यो । आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्ने मुल सहमति बन्न पुग्यो ।

यो बैचारिक सहमति बन्ने र अलग-अलग पार्टीमा रहेर एकअर्कालाई आरोप लगाउने अन्तरविरोधी कुरा भए । यद्यपि, सहकार्य गर्ने प्रयास भयो । संयुक्त सरकार पनि बन्यो तर केही असमझदारी बन्यो, गठबन्धन तोडियो र तिक्तताको स्थिति रह्यो । त्यो ‘टसल’मा एकअर्कालाई आरोपित गर्दागर्दै ग्राउन्डमा सैद्धान्तिक आधार एउटै बन्नुले त्यसलाई सहकार्यमा बदल्ने परिस्थिति तयार भएको छ ।

दुई पार्टीका अध्यक्ष त एक अर्कामाथि गाली गलौजमै उत्रिएका थिए । अघिल्लो दिनसम्म गाली गरिरहेका नेता भोलिपल्ट कसरी मिले ? यो कसरी सम्भव भयो ?

सरकारमा सहकार्य गर्ने भनेको हो, गरिराखेका छौं ।चुनावअघि सरकार ढाल्छौं भनेका छैनौं । तर, हामीले बिचार र एजेन्डा मिल्नेसँग पार्टी एकता गर्दा धोका भयो भन्नु अराजनीतिक टिप्पणी हो

गालीगलौजभन्दा पनि राजनीतिक आरोप-प्रत्यारोप थियो । तर, उहाँहरु दुवै (प्रचण्ड-केपी ओली)ले एकअर्काको आवश्यकता महशुस गर्नुभयो, एकअर्काको अस्तित्व स्वीकार्नुभयो । त्यसको आधार मैले माथि नै भनिसकेँ ।

उहाँहरुले मुलुकलाई राजनीतिक स्थायित्व दिनसक्ने, आर्थिक समृद्धि गर्ने र संविधान कार्यान्वयनलाई अझ सफलतापूर्वक लैजान सक्ने सम्भावनालाई हेर्नुभयो । सैद्धान्तिक आधार पनि फरक छैन र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट आर्थिक समृद्धि, स्वाधिनता हुँदै समाजवादको आधार तयार गर्ने लक्ष्यमा समानता भएपछि व्यक्तिगत ‘टसल’ र आवेगमा लगाइएका आरोपहरु टिकिरहन सक्दैनन् ।

 

तीन दलबीच गठबन्धन बन्ने कुरा कल्पनाबाहिर भए पनि सम्भव भएको छ । यस्तो असम्भव कुरालाई सम्भव बनाउने पात्र को को हुन् ?

मुख्य कुरा नेपाली जनता हुन् । नेपाली जनताको माग र आवश्यकतालाई हाम्रा नेताले महशुस गर्नुभयो । बाँकी पात्र त को हुन्छन्, त्यो महत्वको कुरा होइन ।

एउटा आम जिज्ञासा, केपी ओलीको नेता प्रचण्ड हुन् कि प्रचण्डको नेता केपी ओली ?

एकता प्रक्रियामा गएर समायोजन समिति बनाउँदै गर्दा एमाले र माओवादी केन्द्रका अध्यक्षहरु प्रमुख नेताका रुपमा रहनुहुनेछ भनेका छौं । त्यसैले अब केपी ओलीको नेता प्रचण्ड पनि हो र प्रचण्डको नेता केपी ओली पनि हो । दुइटै दुइटैका नेता हुन् ।

नेता अलिकति तयार भएर पनि होला उत्साहित छन् । तर, कार्यकर्ता पंक्ति निरास र तयार नभएजस्तो देखियो, अलि बढी नै गरियोजस्तो लाग्दैन ?

निर्वाचनमा देखिएको टसल, सरकारको सहकार्य हेर्दै गर्दा तत्काल नै एमाले र माओवादीबीच कुनै सहकार्य हुँदैन होला भनेर बसेका कार्यकर्तालाई एकता नै गर्नेभन्दा सरप्राइज त लागेको छ । तर, यसका आधारहरुमा गएर विश्लेषण गर्दा सहज अवस्थामा जान्छ ।

किनभने, हाम्रो पार्टीमा अध्यक्ष प्रचण्डले ०६४ सालको काभ्रेस्थित फूलबारी बैठकमा एमालेसँग एकता गर्ने प्रस्ताव नै पारित गराउनु भएको छ । त्यसपछि दुई पार्टीबीच धेरै छलफल भएका छन् । त्यो क्रम एउटा अंशमा निरन्तर जारी थियो, आज समग्रमा हुनपुग्यो ।

सरकारमा कांग्रेससँग हुनुहुन्छ । स्थानीय चुनावमा तालमेल पनि भएको थियो । कांग्रेसलाई किन छाड्नुभयो ? उसले त अनैतिक भयो, धोका भयो भनेको छ नि ?

मुख्य कुरा पार्टी एकता गर्नु कसैलाई धोका दिनु होइन । प्रेमी-प्रेमिकाले विवाह गरे भने कसैलाई धोका हुँदैन नि, त्यस्तै कुरा हो यो । कांग्रेससँग त माओवादीको पार्टी एकता कहिल्यै हुन सक्दैन । हामीले भनेका पनि थिएनौं ।

सरकारमा सहकार्य गर्ने भनेको हो, गरिराखेका छौं । हामीले चुनावअघि सरकार ढाल्छौं भनेका छैनौं । हामीले बिचार र एजेन्डा मिल्नेसँग पार्टी एकता गर्दा धोका भयो भन्नु अराजनीतिक टिप्पणी हो ।

औपचारिक रुपमा वाम गठबन्धनबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने नै छ । त्यसभन्दा पहिले व्यक्तिगत रुपमा केही गुनासो पनि पाउनु भएको छ कि ?

पत्रपत्रिकामा नयाँ गठबन्धनबारे कांग्रेसका साथीहरुले प्रतिक्रिया जनाउनु भए पनि व्यक्तिगत रुपमा त्यस्तो गुनासो गर्नु भएको छैन । पार्टी एकताका लागि गठबन्धन बनाएर जाने निर्णय भएकाले उहाँहरुले यसमा दुःख मान्नुपर्ने कुनै कारण छजस्तो मलाई लाग्दैन ।

फेरि हामीले कांग्रेस मन नपरेर नयाँ गठबन्धन बनाएका पनि त होइनौं नि ! तालमेल त हामीले कांग्रेससँग पनि गर्‍यौं, यसका आफ्नै अनुभव छन् । यसबारे अहिले धेरै टिप्पणी नगरौं । तर, यो गठबन्धन त पार्टी एकताअन्तर्गत भएको हो । त्यसैले यो विगतको गठबन्धनभन्दा नितान्त फरक कुरा हो । कांग्रेसका साथीहरुले यसलाई यसरी नै बुझ्नुपर्छ ।

गृहमन्त्री आफैं गएर विपक्षी पार्टीसँग भएको सहमति वाचन गरिदिनुभयो भन्ने पनि छ नि ?

म गृहमन्त्री भएर सहमतिपत्र वाचन गरेको होइन । मेरो पार्टी अध्यक्षले गर भनेर आदेश दिएपछि मैले गर्नुपर्छ । मैले गृह मन्त्रालयको तर्फबाट गरेको त होइन । आज प्रधानमन्त्रीले केही पढ भन्नुभयो भने त्यही पढ्छु सरकारको तर्फबाट ।

तर, कांग्रेस पनि तालेमल गरौं भनेको थियो नि ?

तालमेल मात्र गर्ने हुँदा कांग्रेससँग कुराकानी भएको थियो । तर, हाम्रो कुरा तालमेल मात्र रहेन, पार्टी एकता नै गर्ने भयौं । पार्टी एकता एमालेसँग गर्ने अनि कांग्रेससँग तालमेल गर्न त मिलेन । पार्टी एकता नगरेर एमालेसँग तालमेल मात्र गरेको भए कांग्रेसले भन्ने ठाउँ थियो । तर, हामीले पार्टी एकता गर्दैछौं ।

आ-आफ्नो चुनाव चिन्हबाट लडेपछि तालमेल नै त भयो नि ?

अहिले त प्राविधिक कारण छ । एउटै पार्टी दर्ता गर्न नपाइने भएकाले मात्र हो । यदि पाइन्थ्यो भने नेपाल कम्युनिस्ट पार्टी दर्ता गथ्यौर्ं र एउटै चुनाव चिन्हमा चुनाव लड्थ्यौं । यदि कसैले यसलाई तालमेलका रुपमा मात्र बुझ्यो भने गलत हुन्छ ।

तर, यो चुनावी स्वार्थले मात्र भएको हो । एकता भने पनि यो तालमेलमै सीमित हुन्छ भन्छन् नि ?

यो त भन्नेहरुको कुरा भयो । के गर्‍यौं त हामीले भन्ने हो र हामीले जे भन्छौं, त्यही हो । अरुले बाहिर टिप्पणी गरेर केही हुन्न । भने नि त, तिमीलाई धोका हुन्छ, यो हुन्छ, त्यो हुन्छ अनेक कुरा भनिरहेका छन् ।

हाम्रो कुरा के हुन् भने हामी कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित अगाडि बढेका छौं । यो न कसैलाई धोका हो, न कसैलाई घात । यो हाम्रो राजनीतिक स्वतन्त्रता हो र हामीले निर्णय गर्‍यौं । भोलि कांग्रेसले पनि अरु कसैसँगै (एकता वा तालमेल) गर्छ होला, गर्न खोजिरहेको पनि छ । त्यसलाई हामी धोका दियो भन्दैनौं, समर्थन गर्छौं ।

चुनावचाहिँ यही सरकारले गराउँछ होइन ?

एमालेले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ भनेर संविधानसभामा भनेको हो । हामीले कार्यकारी राष्ट्रपति नै चाहिन्छ भनेर भिन्न मत राखेकै छौं भने कार्यकारी भन्नेमा अन्तर छैन

हो, आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव यही सरकारले गराउँछ ।

यसमा फेरबदल, तलमाथि हुने सम्भावना छ कि छैन ?

कांग्रेसले नै सरकार छाड्यो भने त्यो अर्कै कुरा हो । तर, हाम्रोतर्फबाट फेरबदल गर्ने कुरा हुँदैन । यसमा सबै प्रष्ट भए हुन्छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमपछि चुनाव नै नहुने हो कि भन्ने आशंका पनि व्यक्त हुन थालेका छन् । यसलाई तपाईंले कसरी लिनुभएको छ ?

निर्वाचन निर्धारित मितिमै हुन्छ । संविधान र आमजनताले तय गरिसकेको निर्वाचनबारे अब आशंका गरिराख्न जरुरी छैन ।

प्रधानमन्त्रीको पुरानो ट्रयाक रेकर्ड राम्रो छैन । त्यसलाई हेरेर मानिसहरुले शंका गरेका छन् नि ?

यो पुरानो मान्यता हो । उहाँले अब यस्ता पुराना मान्यता लागू गराउन मिल्दैन ।

एमाले र माओवादी केन्द्रबीच तराई मधेशलाई हेर्ने दृष्टिकोणमा ठूलो अन्तर छ । शासकीय स्वरुपमा पनि तपाईंहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भनिरहनु भएको छ, एमाले संसदीय प्रणालीमा छ । यसमा समान धारणा बनिसक्यो ?

त्यो ६ बुँदे सहमतिमै प्रष्ट छ । अहिलेका उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, महिला, मधेशलगायत बाँकी कुरा पूरा गर्ने र संविधान संशोधन गर्ने लेखिएकै छ ।

संविधान संशोधन गर्छु त एमालेले पनि भनेको हो । तर, सीमांकनसहितका मुद्दामा त एमाले र माओवादी दुई ध्रुवमा छन् । यसमा के गर्नुहुन्छ ?

हाम्रो जे सहमति भएको छ । त्यो साझा कुरा हो ।

भोलि संविधान संशोधन गर्दा अहिले एमालेले भनेजस्तो हुन्छ कि माओवादीले ?

त्यो अहिले हामीले सहमति गरेजस्तो हुन्छ । पार्टीको दस्तावेज, घोषणा पत्रहरु बनाउन बाँकी नै छ । धेरै सैद्धान्तिक वैचारिक कुराहरु त्यसक्रममा छलफल गर्छौं ।

शासकीय रुपमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाने सहमति हो ?

एमालेले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ भनेर संविधानसभामा भनेको हो । हामीले कार्यकारी राष्ट्रपति नै चाहिन्छ भनेर भिन्न मत राखेकै छौं भने कार्यकारी भन्नेमा अन्तर छैन । कार्यकारी राष्ट्रपतिबारे के हो भन्ने घोषणा पत्रमा आउँछ ।

साझा घोषणा पत्र र साझा उम्मेदवार भएपछि प्रधानमन्त्री र मुख्यमन्त्रीहरु पनि साझा उम्मेदवार आउँछन् ?

घोषणा कतिबेला गर्ने, त्यो प्राविधिक कुरा हो । तर, संसद्का उम्मेदवार साझा भएपछि माथिका उम्मेदवार पनि साझा नै हुन्छन् ।

नेपालका कम्युनिस्टहरु माओका चौथी पत्नीलाई हेर्ने दृष्टिकोणमा कुरा नमिलेर पनि फुटेका छन् । जनयुद्धलगायत विगतका आन्दोलनलाई हेर्ने कुरामा पनि तपाईंहरुबीच मतैक्यता छैन । यी कुराहरुलाई अब कसरी मिलाउनु हुन्छ ?

कम्युनिस्ट पार्टीले इतिहासको समीक्षा गर्छ । हामी पनि साझा घोषणापत्र बनाउने क्रममा विगतको समीक्षा गछौं । जनयुद्ध, जनआन्दोलन, झापा आन्दोलनको ऐतिहासिक महत्व र यसको राजनीतिक अर्थबारे धारणा बनाउँछौं । हाम्रा ऐतिहासिक सन्दर्भ र घटनाक्रमहरुबाट हामी अलग हुँदैनौं, त्यो सन्दर्भलाई आवश्यकतासँग जोडेर हामी अगाडि बढ्छौं ।

उसो भए विगतलाई हेर्ने दृष्टिकोणमा विवाद भएर पार्टी एकता रोकिँदैन ?

यसमा विवाद हुँदैन, हामी सहमति गरेर नै अगाडि बढ्छौं ।

६०/४० को भागबण्डा गरेर चुनावमा जाने भन्नुभएको छ । यो हरेक जिल्ला र प्रदेशमा हुन्छ कि शक्ति र प्रभावका आधारमा मिलाउनु हुन्छ ?

त्यो आममा हुन्छ । कुनै प्रदेशमा कसैको कम र कसैको बढी होला, कतै बराबर होला । तर, धनकुटा, जहाँ स्थानीय तहमा एमालेले क्लिनस्विप गरेको छ, मा माओवादी र रुकुम, जहाँ स्थानीय तहमा माओवादीले क्लिनस्विप गरेको छ, मा एमालेका उम्मेदवार पनि हुनसक्छन् । यी कुराहरु सहमतिअनुसार हुने भएकाले अहिले नै यसै हुन्छ भनेर म भन्न सक्दिनँ ।

देशमा एउटै कम्युनिस्ट पार्टी बन्छ र संविधानले परिकल्पना गरेअनुसार समाजवादको कार्यान्वयनमा जान्छ भन्नेमा तपाईं व्यक्तिगत रुपमा ढुक्क हुनुहुन्छ ?

हाम्रो देशको उन्नति-प्रगति गर्न धेरै वर्ष लाग्दैन, १५ वर्षमै समृद्धि ल्याउन पर्याप्त छ । तर, यसका लागि हामीले आफ्नोतर्फबाट त्याग गर्न तयार हुनुपर्छ । समाजवादउन्मुख अवधारणा बोकेको हाम्रो संविधानले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार भनेको छ । अर्थात्, कपासदेखि खाद्य सम्प्रभुतालगायत अधिकार दिने भनेको छ । यो कुरा त हामीले लागू गर्न पर्‍यो नि ?

राजनीतिक परिवर्तनसँगै आर्थिक समृद्धिमा देशलाई अघि बढाउनु राजनीतिक दलहरुको अहिलेको मुख्य कार्यभार हो । यदि हामी कम्युनिस्ट पार्टी हौं भने यसबाट विचलित हुन मिल्दैन । त्यसकारण हाम्रो एकता सफल हुन्छ । हो, हामीबीच केही सैद्धान्तिक मतभेद छन्, त्यसलाई बहस र छलफल गर्दै आगामी दिनमा समाधान निकाल्ने छौं ।

नेपालको राजनीतिलाई भूराजनीतिले पनि असर पार्छ भनिन्छ । यो गठबन्धनबाट उत्तर उत्साहित र दक्षिण निरास बनेका कुराहरु आइरहेका छन् । यथार्थ यस्तै हो कि फरक छ ?

यो कुरा मेरो जानकारीमा छैन । कसैका विरुद्ध हाम्रो गठबन्धन लक्षित नभएकाले कोही पनि यसबाट उत्साहित र निरास हुन जरुरी छैन । यो राजनीतिक पार्टीको निर्णय गर्ने स्वतन्त्र अधिकार प्रयोग गर्दै गरिएको हो । आफ्नो अधिकार प्रयोग गर्दै हामीले गठबन्धन निर्माण गरेको हुनाले हाम्रो सम्बन्ध आगामी दिनमा सबैसँग सन्तुलित हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्