कामदार दिने र लिने मुलुकबीच हुने मन्त्रीस्तरीय बहुपक्षीय छलफल अबुधावी (यूएई) मा हुने



काठमाडौं : वैदेशिक रोजगारीका लागि कामदार दिने र लिने मुलुकबीच हुने मन्त्रीस्तरीय बहुपक्षीय छलफल अबुधावी डायलग यूनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने भएको छ । उक्त छलफलमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेकृत्व गर्दै श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्ट मंगलबार युएई जाँदैछन् ।

पाँचौं अबुधाबी डायलग अक्टोबर १६ र १७ तारिखमा दुबईस्थित एक होटलमा हुँदैछ । कार्यक्रममा सहभागी हुन मन्त्री बिष्टको नेतृत्वमा श्रम मन्त्रालयका सचिव, सह–सचिव र वैदेशिक रोजगार महाशाखाका प्रमुख एबं परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत त्यसतर्फ जान लागेको मन्त्रालय स्रोतले बतायो । छलफलमा यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र श्रम काउन्सिलर भेषबहादुर कार्की समेत सहभागी हुने बताइएको छ ।

रोजगारीमा कामदार लिने मध्य पूर्वका खाडी मुलुक र कामदार पठाउने एसियाली मुलुकका उच्च सरकारी प्रतिनिधिहरुसहित मन्त्रीस्तरीय छलफलमा कामदार दिने र लिने मुलुकहरुबीच पारदर्शिताका लागि थप समन्वय हुनुपर्नेबारे छलफल केन्द्रीत हुनेछ ।

छलफलमा खाडी र एशियाली मुलुकहरुबीच कामदारको भर्ना र आयातका लागि भएका वर्तमान संयन्त्रबारे समीक्षा गर्दै थप निर्णय लिइने अधिकारीहरुले बताएका छन् । आबुधाबी डायलगमा खासगरी अवैध कामदार आयात र निर्यातको रोकथाम, कामदारको कल्याण र सुरक्षा उपायबारे मुख्य गन्तव्य देशहरूको आपसी चासोलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

छलफलमा कामदार पठाउने मुलुकहरु नेपाललगायत अफगानिस्तान, बंगलादेश, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिहरुको सहभागिता रहनेछ भने कामदार आपूर्ति गर्ने देशहरु यूएईका अलावा बहराइन, ओमान, कुवेत, कतार, साउदी अरेबिया, यमन र मलेसियाका प्रतिनिधि सहभागी हुने बुझिएको छ ।

छलफलमा अन्तर्राष्ट्रिय श्रम संगठनलगायत आप्रवासी कामदारको हकहितमा काम गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय संघसंस्था समेत सहभागी हुँदैछन् ।

कामदार पठाउने मुलुकहरुको साझा मञ्च कोलम्बो प्रोसेसको नेपाल हाल अध्यक्ष राष्ट्र पनि भएकाले आबुधाबी डायलगमा नेपालको सहभागितालाई महत्वपूर्ण रुपमा हेरिएको छ । गत सन् २००८ देखि सुरु भएको अबुधाबी डायलगमा बिगत ४ वर्षदेखि नेपालले पनि सहभागिता जनाउँदै आएको छ ।

मन्त्री बिष्टले सूएईमा रहंदा त्यहाँ रहेका नेपाली कामदारहरुसँग समेत भेटेर अन्तरक्रिया गर्ने अबुधाबीस्खित नेपाली दूतावासले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्