मानव बेचविखनमा म्यानपावर र परामर्शदाता सक्रिय , ५१ प्रतिशत यौन शोषणमा



काठमाडौं , मंसिर २२ । मानव बेचविखनका घटनामा सबैभन्दा बढी म्यानपावर तथा परामर्शदाताको संलग्नता हुने गरेको एक अध्ययनले देखाएको छ। महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले वर्ष २०७५ भित्र विभिन्न सञ्चार माध्यममा प्रकाशित बेचविखनसम्बन्धी समाचार सामग्रीको अध्ययनमा बेचविखनको घटनामा ३३ प्रतिशत म्यानपावर व्यवसायी र परामर्शदाताको संलग्नता रहेको पाइएको छ।

बेचविखनको घटनामा गैरनेपाली नागरिकको पनि बाक्लो संलग्नता रहेको प्रतिवेदनले औँल्याएको छ।एटवीनको अध्ययन अनुसार मानव बेचविखनका एक तिहाई घटना वैदेशिक रोजगार र परामर्शसँगसम्बन्धित छन् ।

अर्को मूल कुरा, १७ वर्ष उमेर समूहका अर्थात बालबालिका देखि किशोरकिशोरी तहका नै ५० प्रतिशत बेचिए । जहाँ १ सय ८१ पीडितको उमेर उल्लेख छ । फरक तर्क गर्नेहरुले आँकडालाई मात्रै आधार मानेर वैदेशिक रोजगारलाई शंकास्पद बनाउनु हुँदैन भन्छन् । तर, पीडित मध्ये ५१ प्रतिशत यौन शोषण, ३५ प्रतिशत श्रमशोषण र ९ प्रतिशत मानव अंग बेचविखनमा परेको ‘जर्जरता’ यो भित्र रहेको तथ्य खुलेको छ ।

आँकडाले अरु पनि संकेत गरेको छ, लाउँलाउँ–खाउँखाउँको उमेरका मान्छेहरु भुङ्ग्रामा परिरहेका छन् । एटवीनका अनुसार १८ देखि २९ वर्ष उमेर समूहका ४१ प्रतिशत, ३० देखि ४९ वर्ष उमेर समूहका ९ प्रतिशत बेचविखनमा परेका छन् ।

तर, ५० वर्ष माथि उमेरका भने यो वर्ष एक जना पनि परेका छैनन् । मानव बेचविखन तथा ओसारपसारसम्बन्धी सामाग्रीहरूको अध्ययन तथा विश्लेषण गरी तयार पारेको प्रतिवेदनमा प्रभावित जिल्ला मध्ये सिन्धुपाल्चोक पहिलो नम्बरमा रहेको उल्लेख छ ।

संख्याकै कुरा गर्दा सिन्धुपाल्चोकका ९ जना, नुवाकोटका ७ जना, दैलेख र काभ्रेपलाञ्चोकका ५–५ जना बेचविखनमा परेका छन् । सिमापार लगेर बेचविखन गरिएका घटना ५४ प्रतिशत, वैदेशिक रोजगारीसँग सम्बन्धित २६ प्रतिशत र आन्तरिक ओसारपसार तथा बेचविखनसँग सम्बन्धित ८ प्रतिशत रहेको कुरा प्रतिवेदनमा छ ।

४ सय ८६ जना प्रभावितको कैरहनमा ८६ प्रतिशत महिला र १४ प्रतिशत पुरुष समेटिएका छन् । बेचविखन कर्ता अर्थात् दलाल सबैभन्दा धेरै ३३ प्रतिशत एजेन्ट र म्यानपावर व्यवासायी तथा परामर्शदाता रहेको अध्ययनले देखाएको छ ।

बेरोजगारी समस्याले पिल्सिएकाहरु मध्ये राम्रो कामको प्रलोभनमा परि बेचविखनमा पर्नेको संख्या ३७ प्रतिशत छ । यसले वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखन तथा ओसारपसार एवं मानव तस्करी बढेको देखाउँछ ।

राज्यले यो विषयमा खोजविन गर्न आवश्यक रहेको र वैदेशिक रोजगार ऐन संशोधनको सुझाव प्रतिवेदक संस्थाले दिएको छ । मानव बेचविखन तथा ओसारपसार ऐन समेत संशोधननको आवश्यकता औँल्याउँदै एटवीनले वैदेशिक रोजगारीका क्रममा हुने बेचविखन तथा ओसारपसार एवं मानव तस्करीलाई सम्बोधन गर्न समेत भनेको छ ।

सरकाले खाडी मुलुकमा रोजागारीकालागि जान महिलालाई रोक लगाएको छ । त्यसैलाई केन्द्रीत गरेर मानव तस्करले अवैध बाटोबाट नेपालीलाई जोखिमपूर्ण गन्तव्यमा पठाइरहेका घटना बढेका छन् । मुलुकको बेरोजगारी समस्याले पीडितलाई जोखिपूर्ण श्रम गन्तव्यमा जान बाध्य पारिरहेको तर्क एटवीनकी अध्यक्ष नातीसरा राईको छ । उनले मानव बेचविखन तथा ओसारपसारलाई रोक्न तीनै तहका सरकार र सुरक्षा निकायको भूमिकाको खोजी नागरिक तहबाट पनि हुनुपर्ने बताएकी छन् ।

बेचविखनमा पर्नेमा सबैभन्दा बढी तामाङ समुदायबाट ३१ प्रतिशत तथा ब्राम्हण र क्षत्री समुदायबाट २० प्रतिशत र दलितबाट १७ प्रतिशत थिए। यसैगरी मधेशी समुदायबाट ८ प्रतिशत, राई समुदायबाट ९ प्रतिशत, मगर समुदायबाट ६ प्रतिशत तथा मुस्लिम, शेर्पा र चौधरी समुदायबाट ३–३ प्रतिशत प्रभावित भएका प्रतिवेदनमा समावेश गरिएको छ।

भारतीय तस्कर बढी
मानव बेचविखनको घटनामा बढी सक्रीयता भारतीयकै पाइएको छ । मानव तस्करीका २७ प्रतिशत घटनामा भारतीय नै संलग्न रहेको पाइएको हो । त्यस्तै छरछिमेकीबाट १२ प्रतिशत, प्रेमी र श्रीमान संलग्न भएका ६।६ प्रतिशत, साथी संगतले २ प्रतिशत र अन्य कारणले बेचिएका घटना ३ प्रतिशत छन् ।

११ प्रतिशत मान्छे भने थाहै नपाई बेचबिखनमा परेको प्रतिवेदनले औंल्याएको छ । थाहै नपाई बेचिनेमा ५ जना त बालबालिकै छन् । बालबालिका राखिएको सेल्टर सञ्चालक नक्कली आमा बनेर समेत मानबव तस्करी गरिरहेको तथ्य पनि यो अध्ययनका क्रममा खुलेको छ ।

अहिले अफ्रिकी मुलुक, युरोपीयन मुलुक, मलेसिया, कतार, साउदी, युएई, कुबेतमा मानव तस्करी बढ्दै गएको देखिन्छ । सरकारले खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा जान रोक लगाएका कारण भारत, म्यानमार, बंगलादेश र पाकिस्तानको बाटो प्रयोग गरेर नेपाली महिला जोखिमपूर्ण श्रम गन्तव्यमा गइरहेका छन् । यो विषय राज्यका लागि चुनौती हुँदै हो, नव नियुक्त श्रममन्त्री रामेश्वरराय यादवका लागि त झन् चुनौतीको पहाड भन्दा फरक नपर्ला ।नै भएको छ ।

मानव बेचविखन रोक्न सुझाव

वैदेशिक रोजगारीका आडमा मानव बेचविखन हुने क्रम अत्यधिक रहेकाले तीनै तहका सरकारलाई गम्भीरताका साथ नीति निर्माण गर्न सुझाव दिएको छ। प्रतिवेदनले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी वैदेशिक रोजगारीको आडमा हुने मानव बेचविखनमा संलग्नलाई कारबाही गर्ने प्रावधान राख्न सुझाव दिएको छ।

मानव बेचविखनमा संलग्नलाई कडा कारबाहीको व्यवस्था नभए यौनशोषण वा श्रमशोषणका लागि दलालले वैदेशिक रोजगारीको आवरण लगाएर मानव बेचविखन तथा ओसारपसार जारी राख्ने प्रतिवेदनमा औँल्याइएको छ। प्रतिवेदनमा महिलालाई घरेलु कामदारका रुपमा खाडी मुलुकमा जान रोक लगाइएपनि जानेक्रम नरोकिएको भन्दै तत्कालै ठोस निर्णय लिन सरकारलाई आग्रह गरिएको छ। प्रतिवेदनमा प्रदेश तथा स्थानीय सरकारले पनि मानव बेचविखन न्यूनीकरण गर्न सचेतना फैलाउनुपर्ने सुझाव दिइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्