म्यानपावर व्यवसायी फोरमको दशौं साधारणसभा आजबाट , को- को छन् अध्यक्षका दावेदार ?



काठमाडौं। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको दशौं साधारणसभा शुक्रबार (आज) प्रारम्भ हुँदैछ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको फोरमको साधारणसभाको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने उद्घाटन समारोहमा पार्टी सभापति देउवासहित संसदीय दलका नेता बालकृष्ण खाँण, पूर्व श्रममन्त्री तथा पार्टी केन्द्रीय सदस्य रमेश लेखक, युवा नेताहरु केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, गगन थापा, गुरुराज घिमिरे, सांसद प्रकाश स्नेहीलाई विशेष अतिथि र अतिथि वक्ताका रुपमा आमन्त्रण गरिएको महासचिव तारानाथ अर्यालले जानकारी दिए ।

साधारणसभा उद्घाटन पछि फोरमको आगामी दुई वर्ष कार्यकालका लागि निर्वाचन हुने छ । त्यसका लागि पार्टी प्रतिनिधिका रुपमा खटिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व श्रम मन्त्री लेखकले सहमतिको प्रयास गर्ने र सहमति नभए मतदानबाट नेतृत्व छान्ने तयारी रहेको छ । पदाधिकारीका आकांक्षीहरुबीच सहमतिको प्रयास भएपनि आकांक्षीहरुले आफ्ना नाममा सहमति गरिनुपर्ने अडान राखेपछि बिहीबार साँझसम्म निर्वाचनको माहोल बनेको थियो ।

सहमति नभए निर्वाचन गराउन फोरमले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष कमल देव मल्लको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा अधिवक्ता सन्देश राजभण्डारी र अधिवक्ता समेत रहेका व्यवसायी त्रिलोकचन्द विश्वास सदस्य तोकिएका छन् । संयोजक मल्लले निर्वाचन गराउनुपर्ने अवस्था उत्पन्न भएमा साधारणसभाको उद्घाटन सत्र लगत्तै प्रक्रिया शुरु गर्ने बताए ।

फोरममा ७ पदाधिकारी र दश कार्यसमिति सदस्य सहित १७ जनाको प्रत्यक्ष निर्वाचन हुने गरेको छ । त्यसका लागि १८ जना व्यवसायी पदाधिकारीहरुका लागि मात्र आकांक्षी देखिएका छन् । उनीहरु समकक्षी भन्दा आफुलाई अब्बल र योग्य सावित गर्दै पद प्राप्तिको दाउपेचमा देखिएका छन् । बिहीबार साँझदेखि नयाँ नयाँ समीकरण बन्न थालेको बताइएको छ ।

पार्टी प्रतिनिधिका रुपमा खटिएका पूर्व मन्त्री लेखकले बुधबार फोरमको नेतृत्वका लागि विभिन्न पदमा आकांक्षा देखाएका व्यवसायीहरुका धारणा लिएर सहमतिको प्रयास गर्ने बताइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्