पाँच देशका लागि अनअराइभल भिसा बन्दः श्रम स्विकृति पनि स्थगित



काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति हाललाई स्थगित गरिएको छ ।सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको सन्दर्भमा सो निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । ठूलो संख्यामा नेपाली रोजगारका लागि मध्यपूर्वका मुलुक जाने गरेका छन् ।

चीनको ऊहानबाट फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भन्दै आइतबार मात्र ३० नेपालीलाई बहराइनले अध्यागमनबाट प्रवेशमा रोक लगाएको थियो । यस सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कामका लागि होस् या अध्ययनका लागि नजान सार्वजनिक अह्वान गरेका थिए ।

सरकारले दक्षिण कोरियामा इपीएस प्रणालीबाट कामदार तत्काल नपठाउने निर्णय गरेको थियो । यसअघि अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको थियो ।

त्यसैगरी शुक्रबारदेखि लागू हुने गरी पाँच देशका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय पनि गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई अनअराइभल भिसा बन्द गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्