५ वर्षमा यो क्षेत्रको कायापलट हुनेछु – हिराचन्द्र के.सी.



निर्वाचन वार्ता
दिपक बोहरा,दाङ ११ मसिंर।

दोश्रो चरणको निर्वाचनका लागि सवैतिर चुनावी सरगर्मी वढिरहेको छ । जनतालाई प्रभावित पार्नका लागि दलहरु यतिवेला अन्तिम कसरतमा लागेका छन् । विकास, समुन्नति र समृद्धिका एजेन्डा लिएर जनताको घरदैलोमा उम्मेदवारहरु भ्याइ नभ्याई गरि पुगिरहेका छन् । दाङ जिल्ला क्षेत्र नम्वर ३ प्रतिनिधि सभाका लागि वामगठवन्धका उम्मेदवारका रुपमा हिराचन्द्र केसी चुनावी प्रतिष्पर्धामा रहेका छन् । राजनीति र सामाजिक क्षेत्रमा लामो समयदेखि निरन्तर सक्रिय केसी भारि मतान्तरले निर्वाचन जित्ने अपेक्षामा रहेका छन् । उनले सम्पूर्ण क्षेत्रलाई सडक सञ्जालले जोड्नेदेखि मोनोरेल सञ्चालन गर्नेसम्मका महत्वाकांक्षी योजनालाई चुनावी एजेण्डाका रुपमा उठाएका छन् । उनै केसीसँग चुनावी तयारी र एजेण्डाका वारेमा हामीले कुराकानी गरेका छौ ।
  चुनावी तयारी कस्तो छ ?

अहिले हामीले विभिन्न आमसभा र सामुहिक भेटघाटलाई तिव्रता दिइरहेका छौ । भर्खरै एमाले अध्यक्ष केपी शर्मा वली र माओवादी नेता रामवहादुर थापा वादलको उपस्थितिमा विशाल चुनावी सभा गर्यौ । जनताले हामीलाई निकै साथ दिनुभयो । केही समय अगाडि हामीले चुनावी घोषणपत्र जारी समेत गरेका छौ । जनताका माझमा हामीले ५ वर्षसम्म काम गर्ने प्रतिवद्धताहरु लिएर गएका छौ । भुगोलको हिसावले ठुलो क्षेत्र भएकाले छोटो समयमा सवै जनतासम्म पुग्न अवश्य पनि कठिन छ । तथापि रातदिन खटेर पनि सवै जनतासँग भेटघाट गर्नका लागि म निरन्तर लागिरहेको छु । जनताले विकास र समृद्धिको लागि वाम गठवन्धनलाई रोज्नुहुनेछ भन्ने मैले पुर्ण अपेक्षा लिएको छु ।

जनताले के कुरा मागिरहेका छन् ?

मुलुकले लामो समयसम्म राजनीतिक गतिरोधको सामना गरिरहेको थियो । जनताले चाहेको जस्तो विकास र समुन्नति राजनीतिक गतिरोधका कारणले सम्भव हुन सकेन । अव जनतालाई विकास, समृद्धि र समुन्नति चाहिएको छ । उनीहरुले बाटो, पुल, विद्यालय, रोजगार जस्ता विकासमुलक कुराहरुको अपेक्षा गरेका छन् । जुन कुरा पुरा गर्नका लागि सामान्य इच्छाशक्ति भयो भने खासै ठूलो कुरा पनि होइन । अहिले पनि सामान्य गर्जो टार्नका लागि रहरलाग्दो जनशक्तिले देश छाड्नुपर्ने अवस्थाको सृजना भएको छ । जनताहरु आफ्नै देशमा पसिना बगाउन चाहन्छन् । उनीहरु काम मागिरहेका छन् । हामीले भनेका पनि छौ कि ५ वर्ष भित्रमा जनताको जनताको जीवनस्तरमा आमुल परिवर्तन हुने गरि विकासको सपनालाई मुर्तरुप दिनेछौ ।

यसपटक निर्वाचनमा तपाईले मुख्य के कुरालाई उठाउन खोज्नु भएको छ ?

निर्वाचनमा हामीले उठाउने मुद्दा भनेको विकासकै मुद्दा हो । यसका लागि हामीले यस क्षेत्रको सम्पुर्ण अवस्थालाई मनन गरेर विकासका एजेन्डाहरु वनाएका छौ । अरुले जस्तो पुरा गर्नै नसकिने सपना पनि हामीले वाँडेका छैनौ । जनतालाई भ्रममा पारेर आज मत त पाइएला तर त्यसलाई पुरा गर्न सकिएन भने भोलिको राजनीतिक भविष्य अन्यौलमा पर्छ भन्ने कुरा मैले राम्रोसँग वुँझेको छु । खास गरेर यो क्षेत्रको भौगोलिक,सामाजिक, आर्थिक र साँस्कृतिक अवस्थालाई मनन गरेर वामगठवन्धनका तर्फबाट हामीले केही महत्वपुर्ण सवालहरुलाई सम्बोधन गरेका छौ । दाङलाई प्रदेशको राजधानीका रुपमा स्थापित गर्ने हाम्रो पहिलो प्राथमिकता हो । कुनै पनि हिसावले यो क्षेत्र राजधानी हुनै पर्दछ । यो क्षेत्रलाई परदेशको राजधानी वनाउनका लागि शरिरमा एक थोपा रगत रहेसम्म लड्नेछु ।
अर्को कुरा यहाँका हरेक ठाउँहरुलाई हामीले सडक सञ्जालले जोड्नुपर्ने हुन्छ । सडकले विकासलाई पनि सँगसँगै वोकेर लैजान्छ । धेरै गाउँहरु अहिले पनि सडक सञ्जालबाट विमुख छन् । तिनलाई सडक सञ्जालले जोडेर विकासको अनुभुति गराउनु छ , अर्को कुरा यस क्षेत्रका अधिकाँश मानिसहरु कृषिमा निर्भर रहेका छन् , कृषिमा आधुनिकीकरण गरेर उनीहरुलाई वैदेशिक रोजगारमा जानबाट रोक्नका लागि हामीले विशेष पहल गर्नेछौ । कृषकको जीवनस्तर वदल्नका लागि हामीले विशेष एजेन्डा वनाएका छौ । यो क्षेत्रको विकासका लागि मुख्य रुपमा औद्योगिक विकासमा ध्यान दिनुपर्ने छ । हामीले यस क्षेत्रलाई उद्योग ग्रामको रुपमा विकास गर्ने लक्ष्य लिएका छौ । उद्योग धन्दाको विकास भयो भने रोजगारी सृजना हुन्छ र दक्ष जनशक्तिको प्रयोग देशकै लागि हुन्छ । यसका साथै “ हरेक घरमा उद्यमी ” भन्ने नारालाई हामीले विशेष महत्वका साथमा उठाउँदै छौ । समग्रमा यस क्षेत्रलाई समृद्ध र विकसित क्षेत्रको रुपमा विकास गर्नका लािग हामीले महत्वपुर्ण सवालहरुमा ध्यान दिनेछौ ।

चुनावी प्रतिष्पर्धा निकै जटिल छ है ?
चुनावमा प्रतिष्पर्धा भएन भने त्यो चुनाव नै होइन । प्रतिष्पर्धाको आफ्नै खालको मजा छ । मलाई लाग्छ, मेरो विपक्षी उम्मेदवार भन्दा म यो क्षेत्रमा निकै लोकप्रिय र जनमतले अगाडि छुँ । अहिले पनि विभिन्न पाटीबाट एमाले र माओवादीमा प्रवेश गर्नेको निकै लहर छ । स्थानीय तहको निर्वाचनको मतलाई मात्रै आधार मान्ने हो भने पनि हामी दशौ हजार मतले अगाडि छौ । एकातिर हिजोको भन्दा आजको अवस्था सुधारिदै जानु अर्को कुरा हिजो नै हामी वलियो अवस्थामा रहनु हाम्रो जितको सुचक हो । हिजोका दिनमा निर्वाचन जितेर पनि केही गर्न नसकेका, भ्रष्टाचारका लिप्त भएका उम्मेदवारहरुका सामु प्रतिष्पर्धा गर्नु हाम्रो लागि निकै सहज वनेको छ । अर्को कुरा हामीले सत्तामा रहेका वेलामा जहिले पनि जनताको प्रिय हुने कामहरु गर्यौ । अहिले पनि ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्याउने जस्ता जनप्रिय कुरालाई एजेण्डाका रुपमा लिएका छौ । यसले गर्दा पनि जनतामा वामपन्थीहरुले राम्रो जनप्रिय काम गर्छन् भन्ने धारणाको विकास भएको छ । यस्ता विविध राम्रा पक्ष भएका कारणले गर्दा यो प्रतिष्पर्धामा हामी निक्कै अगाडि छौ ।

तपाईले निर्वाचन जित्ने आधारहरु के के हुन् ?
पहिलो कुरा देशैभर वाम गठवन्धन भएको छ। देशका दुइ ठुला पाटीहरु एकाकार भएपछि त्यसैपनि जनमत वलियो हुने नै भयो अर्को कुरा जनताले देश निर्माणका लागि वाम गठवन्धनको विकल्प केही पनि देखेका छैनन् । काँग्रेसबाट हाम्रो पाटीमा प्रवेश गर्नेहरुको लहर दिनानुदिन वढिरहेको छ । सवैभन्दा महत्वकुरा हामीसँग जनताको जीवनशैलीलाई सम्बोधन गर्ने खालमा एजेन्डाहरु छन् । जनता निकै वाँठा भइसके उनीहरुले एजेन्डामा आधारमा मात्रै मत हाल्ने गर्छन् । दुःखी, गरिब र असहायहरुको सहारा भन्नु नै कम्युनिष्ट पाटी हो । हामीले विगतदेखि नै जनप्रिय कामहरु गर्दै आएका छौ । अर्को कुरा म राजनीति र सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहदै आएको मान्छे हुँ । अहिले पनि म जिल्लाको सचिव र युवासँघको केन्द्रीय अनुशासन आयोगको संयोजक छुँ । म राजनीतिमा निरन्तर लागिरहे, कहिल्यै पनि राजनीतिको मुलधारबाट विमुख भइन । यसका साथै यहाँको सामाजिक क्षेत्रमा मैले विगतदेखि नै जुन खाले भुमिका खेल्दै आएको छु त्यो पनि मेरो लागि जित्ने आधार हो ।

चुनावका वेला ठुला ठुला सपना वाँड्ने पछि त्यो भुल्ने खालको परिपाटी छ नि है ?
हो, तपाईले भनेको कुरामा केही प्रतिशत अवश्य पनि सत्यता छ । विगतमा यहाँ भएको पनि त्यही नै हो । त्यही भएर जनताले हामीलाई साथ दिन थालेका छन् । वामपन्थीहरुले कहिल्यै पनि सत्ताको चरम दुरुपयोग गरेनन् । उनीहरुले जति काम गर्ने अवसर पाए सधै जनमुखि काम मात्रै गरे । एमालेकै पालमा गाउँगाउँमा विकेन्द्रीत भएर वजेट मात्रै पुगेन , ज्येष्ठ नागरिक, दलित,अल्पसंख्यक, अपाङ्ग लगायतले विशेष सुविधा र भत्ता पनि पाए । हामीलाई सधै सत्तामा चढने भर्याङका रुपमा मात्रै हेरियो, हामीले आफ्नै ढँगले कहिल्यै पनि काम गर्न पाएनौ । काँग्रेसकै हेर्नुस त्यसले ३ पटकसम्म वहुमत ल्याएर खोइ जनताको लागि के गर्न सक्यो ? वहुमत ल्याएर पुरा अवधि सरकार चलाउन समेत नसक्ने पाटीसँग जनताले के अपेक्षा गर्ने ? मैले निर्वाचनका सन्दर्भमा जे जति कुरा उठाएको छु , ति सवै पुरा गर्नेछु । राजनीतिमा मेरो लामो भविष्य बाँकी छ । मैले अहिले नै जनतालाई निराश वनाए भने अवश्य पनि मेरो राजनीतिक जीवनमा ठुुलो प्रभाव पार्ने गर्दछ । मैले आजका दिनसम्म राजनीतिमा लागेर कहिल्यै गलत फाइदा उठाएको छैन । मलाई जनताको सेवा गर्नुछ, यसकारण मैले जे जति मुद्दा उठाएको छु सवैलाई एक एक गरेर पुरा गर्नेछु । ५ वर्षपछि जनताका सामु गरेको प्रतिवद्धता पत्र लिएर जाँदा जनताले पुरा भएको महसुस गर्नेछन् ।

वामपन्थी एकतावाट यहाँले भनेजस्तै विपरित पाटीबाट भोट आउँला त ?
यसमा अव कुनै पनि शंका रहेन । हाम्रो पाटीका अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता रामवहादुर थापा वादलले एउटै मञ्चबाट पाटी एकता हुने कुराको उद्घोष दाङ आएर गरिसक्नु भएको छ । अव दुइपाटीहरु एकतामा मात्रै सिमित रहेनन् एउटै पाटी वन्ने नै पक्का भइसकेपछि तपाइले भनेजस्तो विपरित पाटी भन्ने नै रहेन । अर्कोकुरा अहिले हाम्रा चुनावी अभियान र गतिविधिहरु संयुक्त रुपमा मात्रै भइरहेका छन् । हामी भावनात्मक रुपमा एक भइसक्यौ । एउटै परिवार भइसकेपछि घात गर्ने कुरै हुँदैन । हाम्रो अवको लक्ष्य भनेको दुइ तिहाइ वहुमत ल्याएर यो देशको कायापलट गर्ने नै हो । यसका लागि वामपन्थी उम्मेदवारलाई भोट सवैले दिनुहुनेछ । हामीभित्र केही पनि समस्या छैन , विचारले एक भइसकेपछि , चुनाव चिन्ह भन्ने कुरा सामान्य हो ।

अन्तमा…?
यो पटकको निर्वाचन भनेको विकास र समुन्नतिका लागि हो । राजनीति स्थायित्व भइसकेको छ । अव विकासको यात्रामा हामी अगाडि वढ्नु छ । जनताले धेरै सोचेर मत दिनुपर्नेछ । सही वाटोमा देशलाई लैजाने हो भने वामपन्थी उम्मेदवारलाई मत दिनुपर्नेछ । सवै जनतालाई एकपटक हाम्रा मुद्दालाई अनुमोदन गर्नका लागि आग्रह गर्दछु । ५ वर्षपछि यो क्षेत्रमा कायापलट ल्याउने एजेन्डा र साहस हामीसँग छ । राप्ती समाचार पत्रिकामा मेरा कुरा राख्ने अवसर दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्