दाङका ३ सय ९४ मतदान केन्द्रबाट मतदान सुरु



जनक नेपाली

दाङ,२१ मंसिर ।  आज बिहान ७ बजे देखि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदान सुरु भएको छ । दाङको कूल १ सय ५१ मतदान स्थलमा ३ सय ९४ मतदान केन्द्रबाट मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।
जसअन्तर्गत क्षेत्र नं। १ मा १ सय १९, क्षेत्र नं. २ मा १ सय २८ र क्षेत्र नं ३ मा १ सय ३७ मतदान केन्द« रहेका छन् । निर्वाचनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृत रावलको भनाई छ । निर्वाचनका लागि दाङमा झण्डै ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

 

मतदाता ३ लाख ३८ हजार

जिल्ला निर्वाचन कार्यालय दाङले जिल्लामा ३ लाख ३८ हजार ९ सय ५३ जना मतदाता रहेको जानकारी दिएको छ । स्थानीय तहको निर्वाचनपछि जिल्लामा ४७ हजार ७ सय ८९ नयाँ थपसहित जम्मा ३ लाख ३८ हजार ९ सय ५३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार क्षेत्र नं. १ मा १ लाख ११ हजार ९६ जना मतदाता रहेका छन् । जसमध्ये ५५ हजार २ सय ३६ महिला र ५५ हजार ८ सय ५९ पुरुष मतदाता रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । क्षेत्र नं. १ कै प्रदेश सभा १ तर्फ ५८ हजार ३ सय ९६ मतदाता रहेका छन् भने प्रदेश सभा २ तर्फ ५२ हजार ७ सय मतदाता रहेका छन् ।

क्षेत्र नं. २ मा १ लाख ८ हजार ८ सय ७० मतदाता रहेका छन् । जसमध्ये ५६ हजार ८ सय १५ महिला र ५२ हजार ५६ जना पुरुष मतदाताको संख्या रहेको छ । क्षेत्र नं. २ को प्रदेश सभा १ तर्फ ५१ हजार ७ सय मतदाता रहेका छन् भने प्रदेश सभा २ तर्फ ५७ हजार १ सय ७० मतदाता रहेका छन् ।

यस्तै क्षेत्र नं. ३ मा १ लाख १८ हजार ९ सय ८७ जना मतदाता रहेकोमा ६० हजार ७ सय ८२ महिला र ५८ हजार २ सय ४ जना पुरुष मतदाता रहेका छन् । त्यस्तै, क्षेत्र नं. ३ को प्रदेश सभा १ तर्फ ५३ हजार १ सय ८५ मतदाता र प्रदेश सभा २ तर्फ ६५ हजार ८ सय २ जना मतदाता रहेको कार्यालय प्रमुख कार्कीले जानकारी दिनुभयो ।

 

 

८१ जना उम्मेदवार चुनावी दौरानमा

दाङमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल लगायतका साना ठुला दल गरी ८१ जना उम्मेदवारहरु चुनावी दौडानमा रहेका छन् । जसमध्ये प्रतिनिधि सभाका लागि ३० जना र प्रदेश सभाका लागि ५१ गरी जम्मा ८१ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रतिनिधि सभामा ४ महिला र २६ पुरुष उम्मेदवार रहेका छन् भने प्रदेश सभामा ४ महिला र ४७ जना पुरुष रहेका छन् ।

तपाई कुन निर्वाचन क्षेत्रमा ?

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं. १ मा गढवा, राप्ती र राजपुर गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिकाका वडा नं. १, २, ३ र ५ रहेका छन् ।

क्षेत्र नं. १ को प्रदेश सभा १ मा गढवा र राप्ती गाउँपालिका पूरै तथा राजपुर गाउँपालिकाका वडा नं. १, २ र ३ रहेका छन् भने प्रदेश सभा २ मा राजपुर गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७, लमही नगरपालिका र घोराही उपमहानगरका वडा नं. १, २, ३ र ५ रहेका छन् ।
क्षेत्र नं. २ मा बंगलाचुली गाउँपालिका, घोराही उपमहानगरका वडा. नं. ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९ र तुलसीपुर उपमहानगरका वडा. नं. १६, १७, १८ र १९ रहेका छन् ।

क्षेत्र नं. २ को प्रदेश सभा १ तर्फ बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरका वडा नं. ४, १३, १४, १५, १७, १८ र १९ रहेका छन् भने प्रदेश सभा २ तर्फ घोराही उपमहानगरका वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १६ र तुलसीपुर उपमहानगरका वडा नं. १६, १७, १८ र १९ रहेका छन् ।
क्षेत्र नं. ३ मा तुलसीपुर उपमहानगरका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५ र दंगीशरण, शान्तिनगर एवं बबई गाउँपालिका रहेका छन् ।

क्षेत्र नं. ३ को प्रदेश सभा १ मा तुलसीपुर उपमहानगरका वडा नं. ३, ४, ५, ६, ७, ८, १२, १३, १४ र १५ रहेका छन् भने प्रदेश सभा २ तर्फ तुलसीपुर उपमहानगरका वडा नं. १, २, १०, ११ तथा दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिका रहेका छन् ।

४ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनका लागि दाङमा झण्डै ४ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । मतदाता तथा मतदान कार्यको सुरक्षाका लागि जिल्लामा करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

जसमध्ये नेपाल प्रहरी १ हजार २ सय ७५, म्यादी प्रहरी १ हजार ५ सय ९२, नेपाली सेना ५ सय ८१, सशस्त्र प्रहरी ४ सय ६, राष्ट्रिय अनुसन्धान प्रहरी २४ जना गरी ३ हजार ८ सय ८८ जना सुरक्षाकर्मी परिचालन गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

मतदाताको सुरक्षाका लागि तीनवटा घेरामा सुरक्षाकर्मी परिचालन हुने उहाँले जानकारी दिनुभयो । प्रजिअ श्रेष्ठले निर्वाचनको भित्री घेरामा म्यादी र नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी घेरामा नेपाली सेना रहने बताउनुभयो ।

 

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरु

प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी
प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट
प्रदेश नं. ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश नं. ४ : नवलपरासी (पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत
प्रदेश नं. ५ : नवलपरासी (पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया
प्रदेश नं. ६ : सल्यान, सुर्खेत र दैलेख,
प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्