महराद्धारा मतदातालाई धन्यवाद



सैघाली खबर
दाङ २४ मंसिर । दाङ निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कृष्णबहादुर महराले आफ्नो सफलता दाङको समृद्धिका लागि भएको बताएका छन् ।

आइतबार मतदाताहरुलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै महराले आफ्नो सफलता दाङको समृद्धिका लागि भएको आफूले गम्भीरतापूर्वक बुझेको बताएका हुन् ।

‘मेरो सफलता दाङको समृद्धिको लागि हो भन्ने मैले गम्भीरतापूर्वक बुझेको छु,’ धन्यवाद ज्ञापनमा उनले भनेका छन्, ‘अब म जनप्रतिनिधि हुँ, व्यक्ति र पार्टीभन्दा माथि उठेर देश र जनताको सेवामा समर्पित हुनेछु ।’

५ वर्षे कार्यकालमा आफ्नो अधिकांश समय दाङको समृद्धि र विकासमा खर्चिने भन्दै महराले आफ्नो पूरै क्षमता दाङबासी जनताको सेवा र दाङको समृद्धिमा समर्पित गर्ने बताएका छन् ।

आफ्नो प्रमुख कर्तव्य र जिम्मेवारीको पहिलो काम दाङलाई प्रादेशिक राजधानी बनाउने कुरा भएको उल्लेख गर्दै उक्त ज्ञापनमा महराले भनेका छन्, ‘मैले प्रमुख कर्तव्य र जिम्मेवारीका रुपमा पहिलो काम दाङ जिल्लालाई प्रादेशिक राजधानी बनाउने कुरालाई लिएको छु । यसका लागि प्रक्रिया अगाडि बढाइसकेको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु । त्यसैगरी दाङलाई पश्चिम नेपालकै केन्द्र बनाउने कुरा यहाँहरुसमक्ष मैले प्रतिबद्धता जाहेर गरिसकेको छु । यसका लागि स्तरीय यातायात सेवाको तीव्र विकास र कनेक्टीभिटीलाई प्राथमिकताका साथ अगाडि बढाउने छु ।’

उनले सुशासन समृद्धिको अर्को महत्वपूर्ण आधार भएको भन्दै कर्मचारी प्रशासनलाई पारदर्शी, प्रभावकारी र जनमैत्री बनाउनेदेखि कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनलगायतका प्रतिबद्धता पत्रमा उल्लेख गरिएका कुराहरु व्यवहारबाटै पूरा गरेर देखाउने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्