सत्र वर्षपछि महजोडी शत्रु गतेमा



सैघाली खबर,

मह सञ्चारको ब्यानरमा निर्माण भएको नेपाली कथानक फिल्मको नाम ‘शत्रु गते’ भए पनि यसमा माया पे्रम र द्वन्द्व समेटिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा तीन पुस्ताका कलाकारको संगम रहेको पनि फिल्म टोलीले जानकारी गराएको छ । ९ चैतदेखि देशभरका हलमा प्रदर्शन हुने फिल्मको प्रचारका लगि देश दौडाहामा रहेको कलाकारसहितको टोलीले फिल्मबारे जानकारी दिएको हो । फिल्म पत्रकार संघ कास्कीको आयोजनामा पोखरामा शनिबार पत्रकार सम्मेलन भएको थियो ।पारिवारिक र हास्यप्रधान कथा रहेको फिल्ममा पहिलो, अहिलेको र बीचका पुस्ताका कलाकारको अभिनयको संगम रहेको जानकारी दिइएको छ । हिमाल, पहाड र तराईलाई समेटेर निर्माण गरिएको फिल्ममा विशुद्ध पारिवारिक द्वन्द्व, माया–प्रेम र मनोरञ्जन भरिएको जनाइएको छ ।

२३ गते हेटौँडाबाट प्रचार यात्रा थालेको निर्माण टोली चितवन, बुटवल हुँदै पोखरा आइपुगेको हो । टोलीले ३० फागुनसम्म देशका विभिन्न सहरमा पुगेर फिल्मको प्रचार गर्ने बताएको छ । कार्यक्रममा फिल्मका निर्मातामध्येका किरण केसीले फिल्मको ९९ प्रतिशत काम सकिएको र २ चैतभित्र बाँकी सबै काम सकिने जानकारी दिए । फिल्ममा विगत ४० वर्षदेखि यस क्षेत्रमा लागेका कलाकारदेखि केही वर्षदेखि यस क्षेत्रमा संलग्न कलाकारको अभिनय रहेको बताए । उनले एकपटक हलमा फिल्म गएर हेरिदिनसमेत आग्रह गरे । फिल्म निर्माणमा करिब १ करोड ६८ लाख खर्च भएको बताइएको छ।

केही कलाकारको पारिश्रमिक लागतमा नजोडिएको उनको भनाइ थियो । काठमाडौं र वीरगन्जमा छायांकन गरिएको फिल्मलाई सकेजति राम्रो बनाउने प्रयास गरिएको दाबी केसीले गरे । फिल्म बनाउनुअघि करिब ९ महिना लगाएर कथा फाइनल गरेको उनले बताए ।

कलाकार शिवहरि पौडेलले ‘हामी विदेशी फिल्म राम्रो, नेपाली नराम्रो भन्छौँ,’ भन्दै नेपाली फिल्म नराम्रो भएर होइन कि दर्शकले हलमा गएर नहेरिदिएका कारण पछि परेको बताए । कति निर्माताले आफ्नो घर–घडेरी बिक्री गरेर फिल्म बनाउने गरेको तर दर्शकले हलमा गएर नहेरिदिँदा उनीहरूको लगानी समेत नउठ्ने गरेका कारण निर्माता पलायन हुने गरेको पौडेलले बताए । कलाकार राजाराम पौडेलले फिल्म राम्रो बनाउन आफूहरूले मिहिनेत गरेकाले दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्