नेपालविरुद्ध जासुसी गर्ने भारतीय कार्यालय तुरुन्तै हटाइयोसः नेपाल कम्युनिष्ट पार्टी



बाढी नियन्त्रणको नाम झुण्ड्याएर विराटनगरमा खडा गरिएको जासुसी कार्यालय तत्काल बन्द गर्न नेपाल कम्युनिस्ट पार्टीले चेतावनी दिएको छ ।

नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले एक विज्ञप्ति जारी गर्दै कोसी नदीको बाढी नियन्त्रण गर्न भन्दै २०६५ सालमा विराटनगर १३ मा खडा गरिएको भारतीय कार्यालय तत्काल हटाउन चेतावनी दिएका हुन् ।

‘२०६५ सालमा कोसी नदीको बाढी नियन्त्रण गर्न बनाइएको विराटनगर १३ स्थित भारतीय बाढी नियन्त्रण कार्यालय अझै हटाइएको छैन र त्यसले नेपाल देश र क्रान्तिकारी आन्दोलनको विरुद्ध जासुसी गरिरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ‘उक्त भारतीय जासुसी कार्यालय हटाउन र हाम्रा नेताकार्यकर्ता रिहा गर्न माग गर्दछौँ । अन्यथा साम्राज्यवाद र उसको नेपाली दलाल सरकारका विरुद्ध थप सङ्घर्षमा उत्रन बाध्य हुनेछौँ ।’
यसैविच मंगलबार उनले पूर्वी क्षेत्र बन्द गर्न सघाउने सबै पक्षलाई धन्यवाद दिँदै सरकारले बिनाकारण गिरफ्तार गरेका नेता र कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज किरण राईसहित उदयपुर, सुनसरी, मोरङ, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, झापालगायत स्थानबाट ५० औँ कार्यकर्तालाई गिरफ्तार गरेर झुट्टा मुद्दामा फसाइएको भन्दै नेकपा पूर्वी कमाण्डले मंगलबार बन्द आयोजना गरेको हो ।

ओली सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर धरपकड र गिरफ्तारी बढाएपछि नेकपा त्यसको बिरोधमा उत्रिएको छ भने चरणबद्धरुपमा आन्दोलनको घोषणा समेत गरेको छ । गिरफ्तार आफ्ना नेता कार्यकर्ता तत्काल रिहा गर्न नेकपाले चेतावनी दिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्