केही दिनमै पार्टी एकता ः दाहाल



सैघाली खबर
काठमाण्डौ , १७ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताएका छन् । नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने चरणमा रहेको छु उनले भने, ुकेही दिनभित्रै हामी त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउँछौँ र विश्व समुदायलाई नयाँ सन्देश दिन्छौँ । ’

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मंगलबार विभिन्न पेसागत महासंघ र ट्रेड यूनियनसँग आबद्ध संघ–संगठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कार्ल मार्क्सको द्विशतवार्षिकीको अवसरमा नै एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पुर‍्याउने तयारी भइरहेको बताए। एकता प्रक्रिया नेपाली कम्युनिस्ट, नेपाली जनता र विश्वका श्रमजीवी जनताको सम्पत्ति भइसकेको उल्लेख गर्दै उनले यस अभियानबाट कोही पनि पछाडि फर्कने अवस्था नभएको स्पष्ट पारे।

ुएकता प्रक्रिया अगाडि बढ्दैन कि, यो बीचमै रोकिन्छ कि भनेर भ्रम पाल्नु आवश्यक छैन। प्रक्रिया धेरै अगाडि बढिसकेको छ। विश्व श्रमिक दिवसका दिन यस्तो जानकारी गराउन पाउँदा माओवादी केन्द्र र पार्टी एकता संयोजन समितिको तर्फबाट मलाई गौरव लागेको छु उनले भने।

नेपालका लागि दुईतिहाई मतसहितको सरकार बनाउने र समाजवाद उन्मुख संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि र विकासको महान् अभियान पूरा गर्ने अवसर प्राप्त भएको भन्दै उनले यसलाई कुनै पनि हालतमा चुक्न नदिइने प्रतिबद्धता व्यक्त गरे। इतिहासमा बिरलै प्राप्त हुने अवसरलाई पूर्णरुपमा सदुपयोग गरेर सामाजिक न्यायसहितको आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नैपर्ने अध्यक्ष दाहालको कथन थियो।

धनी र गरिबबीचको खाडल नहुने गरी सबैलाई समान अवसर प्रदान गर्ने गरी संविधानमा नै समाजवाद उन्मुख राज्य प्रणालीको परिकल्पना गरिएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, ुनेपाली जनताको चाहनालाई हामी सम्बोधन गर्दै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्छौँ।ु

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता झलनाथ खनालले लामो संघर्षबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै आर्थिक विकासको चरणमा प्रवेश गर्नैपर्ने धारणा राखे। सुखी नेपाली, समृद्ध नेपालको नारा कार्यान्वयन गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएकाले श्रमजीवी वर्गको हित र चाहनालाई सम्बोधन गर्नैपर्ने उनको भनाइ थियो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम क्षेत्रका काम गर्ने मजदुरलाई बैंक खातामार्फत ज्याला पाउने व्यवस्था गर्न लागिएको जानकारी दिए। उनले आगामी साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम् ज्याला वृद्धि गर्ने गरी तयारी भएको जानकारी दिँदै मन्त्री विष्टले केही प्रतिष्ठित उद्योग तथा प्रतिष्ठानले समेत न्यायोचित ज्याला नदिएको भन्ने गुनासो आएको उल्लेख गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्