शेरबहादुर देउवाको जिल्लामा पानीको चरम अभाव



डडेल्धुरा, १० जेठ
डडेल्धुरा जिल्लाको सदरमुकामस्थित बागबजार क्षेत्रमा खानेपानीको अभाव भएको छ ।

पछिल्लो समयमा गर्मी बढ्नुका साथै जलवायु परिवर्तनका कारण खानेपानीका मुहान सुकेर पानी कम हुन थालेपछि जिल्ला सदरमुकाममा पानी अभाव भएकोे हो ।

सदरमुकामवासी जिल्ला नजिक रहेको खानेपानीको मूलमा धाउन बाध्य बनेका छन् । मूल तथा खोलाको फोहर पानीका लागि समेत लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको बागबजारका स्थानीयबासी बताउँछन ।

पानीका लागि सदरमुकामबाट टाढा रहेका खोला तथा न्वौलामा गएर पानी ल्याई प्रयोग गरिरहेको सदरमुकाममा डेरा गरी बस्दै आएका सुरेश खड्काको भनाइ छ । बिहान विद्यालय जान हतार हुन्छ, छिमेकीको घरबाट पानी सापट लिएर खाना पकाउनु पर्ने बाध्यता रहेको अर्का विद्यार्थी भागरथी ऐरले दुखेसो पोख्नुभयो । विद्यालय सकिएपछि साँझ आधा घण्टाको बाटो हिँडेर ठूलधाराबाट पानी भरेर ल्याउनुपर्ने आफ्नो दिनचर्या बनेको ऐरको भनाइ छ ।

त्यस्तै, कार्यालय छोडेर पनि पानीका लागि धाउनुपर्ने बाध्यता रहेको र कहिलेकाहीँ त छोराछोरीलाई नुहाउन समेत पानी नपाइँदा न्वौला वा कुवाको पानी प्रयोग गर्ने गरेको अमरगढी–५ का विमला ओझाले बताइन । अहिले डडेल्धुराका स्थानीय होटल व्यवसायीलाई समेत पानीको अभाव भइरहेको छ । खानेपानीका लागि नजिकका मूल तथा खोलाको फोहरपानी उमालेर ग्राहकलाई दिइरहेको होटल सञ्चालकको भनाइ छ ।

अहिले सदरमुकामको जनसंख्यालाई कम्तीमा पनि छ लाख लिटर पानीको आश्यकता पर्छ । तर खलंगा खानेपानीको ट्यांकीमा अहिले जम्मा एक लाख क्षमता भएको ट्यांकी भएका कारण खानेपानीको अभाव भएको खलंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्ष रवि केसीले बताए।

जिल्लामा रहेको खलंगा खानेपानीबाट पानी वितरण गर्दै आएको भए पनि मूलबाट नै पानी कम आउन थालेपछि जिल्लामा पानीको अभाव हुन थालेको खलंगा खानेपानीले जानकारी गराएको छ । एउटा मात्र मूल रहेको खलंगा खानेपानी आजभन्दा करीब तीन दशक पहिले निर्माण भएको स्थानीयको भनाइ छ ।

खानेपानीको अभावलाई मध्यनजर गरी १३ सय धाराका लागि नयाँ खानेपानी योजना निर्माणको थालनी भएको उपभोक्ता समितिका अध्यक्ष केसीले जानकारी गराए । सदरमुकाममा खानेपानीको अभावलाई समाधान गर्नका लागि साना शहरी खानेपानी योजना लागू भएको छ । रु ३० करोड ६२ लाख लागतमा नयाँ खानेपानीको योजना निर्माण भइरहेको छ । सो योजना सम्पन्न भएमा डडेल्धुरा सदरमुकामलगायत वरपरको क्षेत्रमा समेत पर्याप्त पानी पुग्ने उपभोक्ता समितिका सचिव देवकी भट्टले बताइन।

खानेपानीको योजना निर्माणकार्य चार महिनादेखि भइरहेको अमरगढी साना शहरी खानेपानी आयोजनाले जनाएको छ । नगरपालिकासँगको सहकार्यमा समितिले गरेको सर्वेका आधारमा हाल खलंगा, बागबजार, तुफानडाँडा र कीर्तिपुर क्षेत्रमा १३ सय धारा आवश्यक पर्ने तथ्यांकले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्