नागरिकका गुनासो अब सरकारी मोबाइल एपमा, गुनासोको तत्कालै सम्बोधन पनि ।।



सैघाली खबर/काठमाण्डौँ, १० जेठ।
सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ । यो एप आधुनिक र सुविधाजनक हुनेछ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यसको निर्माण गर्ने योजना छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस्तो एप निर्माणका लागि गृहकार्य थालिएको जनाएको छ । अहिले सरकारले ‘हेलो सरकार’ संयन्त्रमार्फत नागरिकको गुनासो लिइरहेको छ । ‘हेलो सरकार’मा समाजिक सञ्जाल र टेलिफोनमार्फत मात्रै गुनासो गर्न सकिन्छ । तर, अब सरकारका सेवा, सुविधा, नागरिरकका समस्या सिधा सम्बन्धित निकायमा पुग्ने गरी यस्तो एप बनाउन लागिएको हो ।

एकीकृत रुपमा सरकारका सबै निकायसम्बद्ध गुनासो सुन्न र सम्बोधन गर्नका लागि मोबइल एप सञ्चालन गर्ने योजना बनेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । यस्तो एपमा सबै मन्त्रालय र सम्बद्ध निकायको गुनासो सोझै एपमार्फत कार्यलय प्रमुखसम्म र्पुयाउन सकिने अवधारणा तयार गरिएको छ । यो एप बनाउन आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था हुनेछ ।

यसमार्फत आउने गुनासो प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा गुनासो सम्बोधन गर्न छुट्टै संयन्त्र पनि राख्ने तयारी छ । सरकारले नीति तथा कार्यक्रममा प्रत्येक मन्त्रालयमा समस्या समाधानका लागि छुट्टै व्यवस्था गर्ने उल्लेख गरेको छ । त्यही संयन्त्रलाई यसमा प्रयोग गर्न सकिने अधिकारीहृरु बताउँछन् । ‘अहिले हेल्लो सरकारले गरिरहेको कामलाई थप व्यवस्थित र छरितो बनाउन यो व्यवस्था गर्न लागिएको हो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,’गुनासो सुनेपछि तत्कालै त्यसको सम्बोधन गराउन यो प्रभावकारी हुनेछ ।’

सरकारी कार्यालयहरुमा देखिएको बेथिति, विकास निर्माणका काममा भएका ढिलासुस्ती र लापरवाही तथा सुशासनका सवालमा देखिने कमजोरीलाई हल गर्न एप सहयोगी हुने विश्वास सरकारको छ । ‘अहिले धेरै नेपालीको हातमा स्मार्ट फोन पुगिसक्यो । मेरो सरकारले मैले गरेको गुनासो तत्कालै सुन्छ भन्ने अनुभति गराउन यो प्रभावकारी हुन्छ,’ ती अधिकारीले भन्छन् । यस्तो एप निर्माणका लागि गृहकार्य सुरु भइसकेको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्