कम्युनिष्ट पार्टीको ‘वेबसाइट एकता’ चाहिँ कहिले ?



सैघाली खबर/काठमाण्डौँ, ११ जेठ।
एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएको पनि हप्तादिन नाघिसक्यो । यसबीचमा सचिवालय, स्थायी र केन्द्रीय कमिटीलाई पूर्णता दिने काम भैसकेको छ । तीन महिनाभित्र सबै भ्रातृ संगठनको पनि एकीकरण गरिसक्ने तयारी छ । पार्टी एकीकरण भएपछिका यी गतिविधिमध्ये केहीलाई दुवै अध्यक्षको व्यक्तिगत वेबसाइटमा अपडेट गर्ने काम भएको छ ।

तर पार्टीको वेबसाइट चाहिँ तयार भैसकेको छैन । एकीकरण अघिका एमाले र माओवादी दुवैले आफ्ना इतिहास, गतिविधि र अरु धेरै दस्तावेज वेबसाइटमा राख्दै आएका थिए । दुवै पार्टीका नेताहरु सूचना प्रविधि र सामाजिक सञ्जालमा सक्रिय पनि हुँदै आएका छन् ।

तर पार्टी एकीकरणपछि एकीकृत स्वरुपको वेबसाइट बनाउन चाहिँ किन ढिलो त ? ‘वेबसाइटको डिजाइन बन्दैछ’ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले भने, ‘अब केही दिनभित्रै सार्वजनिक गर्छौँ ।’ वेबसाइटको डिजाइनसँगै त्यहाँ राखिने विषयहरु संकलन गर्ने काम भैरहेको उनले जानकारी दिए ।

दुवै अध्यक्षका व्यक्तिगत वेबसाइट सक्रिय, तर परिचय अपडेट खै ?
पार्टी एकता हुनु पहिलेदेखि नै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिगत वेवसाइट सक्रिय छन् । पहिलेको माओवादी केन्द्रले त पार्टीको वेबसाइट नै अपडेट नगरेर प्रचण्ड र कृष्णसेन अनलाइनलाई सक्रिय बनाउँदै आएको थियो । अहिले पनि प्रचण्डको वेबसाइट http://cmprachanda.com/ सक्रिय छ । प्रचण्डको वेबसाइटमा पार्टी एकतापछिका गतिविधि पनि राखिएको छ ।

यस्तै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत वेबसाइट http://kpsharmaoli.com.np/ पनि उत्तिकै सक्रिय छ । उनको वेबसाइटमा पनि कम्युनिष्ट पार्टी गठनपछिका गतिविधि र उनि आफ्नैको सम्बोधनबारेको समाचार राखिएको छ । दुवैको वेबसाइटमा समाचार अपडेट भए पनि नेताको परिचयमा भने अपडेट गरिएको छैन । तत्कालीन एमालेको वेबसाइट http://cpnuml.org/ मा चाहिँ पार्टी एकता अघिसम्मका गतिविधि मात्र अपडेट गरिएको छ ।। –उज्यालो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्