सभामुखको चरित्र हत्या गर्नेबिरुद्ध साइबर क्राइममा मुद्दा चलाउने



  सभामुख कृष्णबहादुर महराले आफू र परिवारसँग जोडेर सामाजिक सञ्जाल र पहिचान र दर्ताविना चलेका केही अनलाइनमा चरित्र हत्या गर्ने प्रयास भएको भन्दै आपत्ति जनाउनुभएको छ ।
‘सम्माननीय सभामुखज्यू र उहाँको परिवारका सदस्यहरुको नाम जोडेर सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र पहिचान नखुलेका, दर्ता नभएका केही अनलाइनहरुमा समेत चरित्र हत्या गर्ने उद्देश्यले भइरहेका घृणित क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको छ’– सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
राजनीतिक प्रतिशोध साँध्नेदेखि अनलाइन र फेसबुक पेजको लाइक कमेन्ट बढाउने, भिजिटर, फ्लोअर बढाउने, अरुको मानमर्दन गरी आफूले चर्चा कमाउने नाममा सामाजिक सञ्जालमा निकृष्ट र निकै भद्धा गालीगलौजमा उत्रिएका सामाजिक सञ्जालका एकाउन्ट र पहिचान नखुलेका अनलाइनहरुमाथि चाँडै नै कानूनी उपचार खोजिनेछ पनि विज्ञप्तिमा जनाइएको छ ।
‘कल्पनै गर्न नसकिने घृणित क्रियाकलापमा नाम जोडेर चरित्र हत्या गर्न खोज्ने खराब नियत भएका व्यक्ति अपराधीहरुले नेपालको प्रचलित ऐन, कानून, साइबर अपराधका बारेमा बेलैमा बुझ्ने चेष्टा गर्न पनि म अनुरोध गर्दछु । यस्ता कपोलकल्पित, भ्रामक र हावा समाचार, स्टाटस, ट्वीटबाट भ्रमित नहुन म सबैमा हार्दिक अनुरोध गर्दछु’– विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जाल र दर्ताविनाका अनलाइनमा चरित्र हत्या गर्ने सामग्री प्रकाशन गर्नेविरुद्ध साइबर क्राइममा मुद्दा चलाउने कानूनी ब्यवस्था छ । सामाजिक सञ्जालमा त्यस्ता सामग्री शेयर गर्नेमाथि पनि कानून आकर्षित हुने ब्यवस्था छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्