३ वर्षमा १४ सय बढी रुख ढालियो



सैघाली खबर,
बाँके, १४ जेठ । नेपालगञ्जमा भौतिक निर्माणसँगै रुख ढाल्ने क्रम पनि बढेको छ । सडक ढललगायत निर्माणका क्रममा रुख ढालिएको तर ३ वर्षसम्म विरुवा नरोपिएकोमा नगरवासी आक्रोशित भएका छन् ।
झण्डै तीन वर्षदेखि निर्माण कार्यले गति लिएसँगै वर्षौँ पुराना रुखहरु धमाधम काट्ने क्रम पनि बढेको तर विरुवा नरोपिएपछि नेपालकै सबैभन्दा बढी गर्मी हुने नेपालगञ्जका नगरबासी आक्रोशित भएका हुन् ।

एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्जमा चार लेनको सडक निर्माण सम्पन्न भयो । त्यस्तै, ढल निकाससँगै भित्री सडकको निर्माण भइरहेको छ ।
चार लेन सडक निर्माण गर्दा सडक किनारमा रहेका अशोक, गोल, मोहर, जामुन तथा स्थानीय बासिन्दाले रोपेर संरक्षण गरेर हुर्काएका वर, पिपलसहित १ हजार ४ सय ३७ वटा रुख काटिएका छन् ।
तर तीन वर्षसम्म पनि उपमहानगरपालिकाले बिरुवा रोपेको छैन । हरियाली नहुँदा कम तापक्रममा पनि धेरै गर्मी महसुस हुन थालेको नेपालगञ्जका बासिन्दाको अनुभव छ ।
पछिल्लो पटक नेपालगञ्जको धम्बोझीमा सडक र नाली निर्माण गरिदा सिमलको रुख ढालिएपछि सामाजिक सञ्जालमा यसको चर्को आलोचना भएको छ । सामाजिक अभियन्ता हेमन्त काफ्लेले मानवीय स्वास्थ्यका लागि रुखहरुको संरक्षण गर्दै विकास गर्नुपर्ने बताउनुभयो ।
नेपालगञ्जमा नागरिक समाजको अगुवाईमा हरित नेपालगञ्ज अभियान सञ्चालन भईरहेको छ भने नेपालगञ्ज उपमहानगरपालिका विकासको नाममा बर्षौदेखि हुर्काइएका रुखहरु ढालिरहेको छ ।
रुखहरु ढालिएपछि चर्को गर्मीमा शितल छहारी बस्ने ठाउँ अभाव भएको कारकादौंका रिक्साचालक मङ्गल थारुले बताउनुभयो । ‘पहिले सुर्खेतरोडमै रुखको छहारी हुन्थ्यो, उहाँले भन्नुभयो,– अहिले रुख खोज्न टाढा गाउँमा जानुपर्ने अवस्था आएको छ ।’
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा। धवलशम्शेर राणाले निर्माण कार्य गरिदा बीच सडक र नालीमा परेका रुखहरु काट्नुपर्ने बाध्यता भएको बताउनुभयो । उहाँले यो वर्षायामदेखि नै यसअघि एउटा रुख काटेको ठाउँमा १० वटा रुख रोप्ने तयारी गरिएको दावी गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्