‘बोक्सी’ भन्दै यातना दिने ‘भोलेबाबा’लाई पाँच वर्ष कैद र एक लाख जरिवाना ।।



सैघाली खबर/कैलाली १८ जेठ।
‘बोक्सी’ भन्दै युवतीहरुलाई यातना दिने कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शुक्रबार उनलाई सो मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो ।

गत फागुन २४ गते अन्तर्रा्ष्ट्रिय नारी दिवसको दिन उनले गाउँकै राधा चौधरीलाई बोक्सी भन्दै निर्घात् कुटपिट गरेर चरम यातना दिएका थिए । सार्वजनिक स्थानमा युवतीहरुलाई यातना दिनका लागि सघाउने रामबहादुर उर्फ ‘भोलेबाबा’का सहयोगीहरुलाई पनि कैद सजायसहित जरिवानाको फैसाला गरेको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ । अदालतकाअनुसार पार्वती भनिने किस्मती चौधरीविरुद्ध एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरिएको छ ।

किस्मतीले यातना दिनका लागि रामबहादुरलाई सघाउनुका साथै आफैंले पनि कुटपिट गरेकी थिइन् । यसैगरी, रामबहादुरका अर्का सहयोगी स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाइएको छ । उनीहरुले हेमा चौधरी र मुना चौधरीलाई पनि कुटपिट गरेका थिए । रामबहादुरको सहयोगीकैरुपमा पक्राउ परेका तीनजनाले भने अदालतबाट सफाइ पाएका छन् । चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई निर्दोष ठहर गरी सफाइ दिइएको हो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्