सभामुख महराको पहलमा बन्ने भयो घोराही–कमिरेचौर सडक



 

सैघाली खबर,
दाङ २२ जेठ । सभामुख कृष्णबहादुर महराको पहलमा सरकारले आगामी आर्थिक वर्ष २०७५र०७६ का लागि घोराही–कमिरेचौर सडकका लागि बजेट सुनिश्चिता गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि मदन भण्डारी राजमार्ग अन्तर्गतका विभिन्न सडक खण्डहरुका लागि ४ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । घोराही–कमिरेचौर सडक पनि मदनभण्डारी राजमार्ग अन्तर्गत पर्छ ।

उक्त सडकको प्रारम्भिक बजेट महरा अर्थमन्त्री हुँदा विनियोजन गरिएको थियो । संघीय तथा प्रदेश निर्वाचका बेला महराले सो सडकको कालोपत्रेका लागि बजेट विनियोजन गर्न पहल गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । घोराही–कमिरेचौर–मुर्कुटी हुँदै प्युठान जोड्ने सडकको ट्रयाक खुलिसकेको छ ।

यसपटक सो खण्डमा बजेट विनियोजनका लागि सभामुख महराले अर्थमन्त्री युवराज खतिवडालाई आग्रह गरेका थिए । २०१९ सालमा सो सडक निर्माणको काम शुरु भएको थियो । तर, लामो समय वितिसक्दा समेत सडक कालोपत्रे हुन सकेको छैन ।

निर्वाचनको बेला महराले स्थानीहरुलाई भनेका थिए–‘म जन्मिदा निर्माण शुरु भएको सडकले कालोपत्रेका लागि मलाई नै खोजेको रहेछ , म यो सडक कालोपत्रै जसरी भए पनि गर्छु ।’

सडक कालोपत्रेको काम आगामी आर्थिक वर्ष देखि शुरु हुने छ । दाङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सभासद् समेत रहेका सभामुख महराले केही वर्ष भित्रै सडकको सम्पूर्ण खण्ड कालोपत्रे गरिने जानकारी दिए । सडक निर्माणपछि दाङबाट प्युठानको दूरी निकै कम हुने छ । अहिले भालुवाङ हुँदै लामो बाटो भएर प्युठान जानुपर्छ ।

सडक खण्डको आसपासको क्षेत्रलाई कृषि तथा पर्यटन क्षेत्रको हव बनाउन सकिने महराको भनाई छ । ‘यो पर्यटन तथा कृषिका लागि निकै उपयुक्त क्षेत्र हो, यसको विकाशका लागि म निरन्तर लाग्ने छु ।’ महराले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्