एमाले र माओवादी केन्द्र नाम राखेर अरुले दल दर्ता गर्न नपाउने, चुनाव चिन्हमा पनि रोक ।।



सैघाली खबर, २४ जेठ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने प्रष्ट पारेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दल दर्ताको प्रमाणपत्र दिएपछि आयोगका सचिव बेगेन्द्रराज पौडेलले बिहीबार विज्ञप्तिमार्फत राजनीतिक दल सम्बन्धी ऐनको दफा १० बमोजिम एमाले र माओवादीको नाम तथा चिन्ह अरुले प्रयोग गर्न नपाउने जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ–निर्वाचन आयोगमा दल दर्ता नम्बर ३२ मा रहेको नेपाल कम्युनिस्ट पार्टी एमाले र दर्ता नमबर ३७ मा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रयोग गरेको यसै दलले एकीकरण भई माग गरेको बाहेकका नाम, झण्डा र चिन्ह राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ बमोजिम कुनै दलले प्रयोग गर्न नपाउने व्यवथा गर्ने ।’

राजनीतिक दल सम्बन्धी ऐनको दफा १० को उपदफा ७ मा दल एकीकरण भएमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिन्ह एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले प्रयोग गर्न सक्ने छैन भनिएको छ । एमाले र माओवादी एकीकरण गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नम्बर १६५ रहेको जानकारी आयोगले दिएको छ ।

नेकपाको चुनाव चिन्ह सूर्य र हँसिया हथौडा अंकित झण्डा रहने भएको छ । दल दर्ताको प्रमाणपत्र बुझ्न नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका नेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङसहितका नेता आयोगमा पुगेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्