रणवीर र दीपिकाको बिहे इटालीमा हुने पक्का



बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाहलाई लिएर लामो समयदेखि चर्चा भइरहेको छ । झण्डै ५ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका यो जोडीको विवाह यही वर्षभित्रै हुन लागेको छ ।

विभिन्न संचार माध्यममा आएका खबरका अनुसार यो जोडीले यही वर्षको नोभेम्बर १० मा विवाह गर्न लागेका छन् । यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले जस्तै दीपिका र रणवीर पनि इटालीमा विवाह गर्ने तयारीमा छन् ।
दीपिका रणवीरको घरपरिवारले यतिबेला विवाहको लागि किनमेल सुरु गरिसकेका छन् । इटालीमा हुने डेस्टिनेशन विवाहमा दुवैको परिवार तथा बलिउडका केही नजिकका साथीहरु मात्रै सहभागी हुनेछन् ।

दीपिका र रणवीर इटालीमा यसअघि विराट र अनुष्काले गरेजस्तै थोरै व्यक्तिहरुबीचमा विवाह सम्पन्न गर्न चाहन्छन् । विवाह समारोहमा बलिउडबाट दीपिकाको तर्फबाट शाहरुख खान तथा रणवीरको तर्फबाट अभिनेता अर्जुन कपूर सहभागी हुन सक्ने अनुमान पनि गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्