प्रियंका र आयुष्मानले गरे सुटुक्क इन्गेजमेन्ट, ‘आयन्का’ नामको कथा यस्तो छ



भनिन्छ– बिहे जीवनमा एक पटक गरिन्छ । बिहेको अर्थ बुझेपछि जोडिने सम्बन्धका लागि यो भनाई उपयुक्त ठहर्छ । त्यसैले वैवाहिक जीवनको दोस्रो इनिङ सुरु गरेकी अभिनेत्री प्रियंका कार्कीको बुझाईसहितको बिहे हुने औपचारिक बाटो तय भएको छ, अभिनेता आयुष्मान देशराज जोशीसँग ।

अब, प्रियंकाले पनि आफ्नो अन्तिम नाममा जोड्दैछिन् जोशी । र, उनले संयुक्त नामको पहिचान ‘आयन्का’ राखेर सार्वजनिक गरिसकेकी छन् । उनको प्रेमको गहिराई र वैवाहिक जीवनको धरातल बलियो रहेको उदाहरण उनकै घोषणा पनि हो । बिहेकै हकमा प्रियंकाको दोस्रो बिहे भए पनि बुझाईको हकमा उनको पहिलो नै हो । त्यसो नहुन्थ्यो त उनको नामपछाडी अहिले नै ‘मैनाली’ रहीरहन्थ्यो । त्यसैले यो प्रेम रोचक छ ।

शनिबार प्रियंका र आयुष्मानका परिवारबीच औपचारिक कार्यक्रम गर्दै जोडीको ‘इन्गेजमेन्ट’ भएको छ । यो जोडीको प्रेमांकुर पछि फस्टाएको सम्बन्धको विस्तारित प्रारूप थियो । प्रेममा एउटा भनाई छ– ‘तिमीलाई भेट्नु मौका थियो, तिम्रो साथी बन्नु चाहना थियो तर तिमीसँग प्रेममा पर्नु मेरो बसभन्दा बाहिरको घटना भयो ।’

ठ्याक्क यस्तै भयो यो जोडीको । दुवैको हकमा यहि भनाईले काम गरेको त्यसबेला सबैले पत्तो पाए जब अवार्ड कार्यक्रममा दुनियाँ विर्सेर अंकमाल आलिंगनमा बाँधिएको थियो, जोडी । जसले मिडियामा कोण–कोणका तस्बिरसहित महत्वपूर्ण स्थान पायो । बुझाइअनुसारको भेट छोटो भए पनि चिनारीको भेट चाहीँ पुरानै थियो ।

कतिपय ठाउँमा आयुुुष्मान्ले भन्ने गरेका छन्,‘प्रियंकालाई रातो बंगलादेखि नै चिनेको थिएँ ।’ प्रियंकाले आयुष्मानसँगको इन्गेजमेन्टपछि आजीवन एक हुने निर्णय गरेको बताएकी छन् । उनले सार्वजनिक घोषणा गर्दै लेखेकी छन्,‘यो इच्छा र खुसीको अनिवार्य घोषणा हो, हामी सदाका लागि एक हुँदैछौं । म अन्तिम नाम परिवर्तन गरिरहेकी छु ।’

 

आयुष्मानको थरलाई अँगालेकी प्रियंका उनीभन्दा करिब ५ बर्ष जेठी छिन् । तर प्रेम हो, त्यसमा उमेरले कति अर्थ राख्छ र ? त्यसैले भनिएको छ– प्रेमले उमेर, सीमा, जात केही देख्दैन । बस्, यो त प्रेम हो । सेलिब्रिटीका लागि उमेर अन्तरको खास अर्थ हुँदैन । ऐश्वर्य राय बच्चन अभिषेक बच्चनभन्दा दुई वर्ष जेठी छिन् ।

जसको पारिवारिक जीवन कुशलताका साथ वितिरहेको छ । एन्जेलिना जोलीका ५ पति उनीभन्दा कम उमेरका थिए वैवाहिक जीवनमा लामो खटपट भएन । त्यसैले प्रेमको अंकुर फूलाएर त्यसको ‘फल’ कै प्रतिफलका विषयमा सोचेरै निर्णय गरेको ‘आयन्का’ जोडीको दिगो सम्बन्ध हुनेमा सबै विश्वस्त छन् । त्यसैले पारिवारिक माहौलमा नै यो जोडीको ‘इन्गेजमेन्ट’ सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्