यूट्यूव रिलिजले बिगार्‍यो नेपाली फिल्मको बजार !



सैघाली खबर, १४ असोज ।

केही दिन अगाडि नायिका आना शर्माले आफू अभिनित चलचित्र ‘ग्याङस्टार ब्लूज’ ले युटुबमा रिलिज भएको २ दिनमै १० लाख भ्यूज कमाएको र ट्रेन्डिङ नम्बर १ मा रहेको भन्दै खुशी व्यक्त गरिन् । हुन पनि हेमराज विसी निर्देशित यस चलचित्रले यूट्यूवमा राम्रै रेस्पोन्स पाइरहेको छ । तर, यूट्यूवको भ्यूजबाट फिल्मका निर्माताले भने आत्मसन्तुष्टी बाहेक केही पाउन सक्ने छैनन् । फिल्ममा गरिएको लगानीको तुलनामा यूट्यूवले जेनरेट गरेको पैसा नगन्य हुन्छ ।

करोडभन्दा बढी बजेटमा बनेका’ग्याङस्टार ब्लूज’ ले हलमा पानी भन्न पाएको थिएन । पछिल्लो समय दर्शकहरु नेपाली चलचित्र यूट्यूवमा हेर्न बानी पर्दै गएका छन् । हरेकजसो चलचित्र हलमा रिलिज गरेको केही महिनामै यूट्यूवमा राखिन्छ । निशुल्क हेर्न पाइने भएपछि किन छोड्ने ? त्यसैले ‘पछि यूट्यूवमा आइहाल्छ नी’ भनेर दर्शक हलसम्मै जान छोडेका छन् । फलतः चलचित्रको बजार धराशयी बनिरहेको छ ।

निर्माता तथा कलाकार दिपकराज गिरीलाई अहिले दर्शकले सोध्ने एउटै प्रश्न हुन्छ, ‘छक्का पन्जा २ युट्यूबमा कहिले आउँछ ?’
हलमा चलचित्र रिलिज भएको एक वर्ष भइसक्दा पनि यूट्यूवमा राखिएको छैन । यूट्यूवमा आइहाल्छ नी भन्दै हलमा नगएका दर्शक अहिले छट्पटाउन थालेका छन् । दिपकराज भने युटुबमा ‘छक्का पन्जा २’ तत्काल नराखिने बताउँछन् । बरु, विदेशमा रहेका दर्शकमा आफैंले चलचित्र लैजाने उनको तयारी छ ।

निर्माताको चेत खुल्दै
जब हाइलाइट्स नेपालले चलचित्रको डिजिटल राइट्स किन्न थाल्यो, निर्माताहरुले हौसिए । चलचित्र हलमा रिलिज नहुँदै लाखौ रुपैयाँ हातमा आउने भएपछि निर्माताले आँखा चिम्लिए र चलचित्रको सम्पूर्ण अधिकार नै बेच्ने होडबाजी चल्यो । केही महिना अघिसम्म त नेपाली चलचित्र बजार नै हाइलाइट्सको कब्जामा थियो । चलचित्र बनाउनु अगाडि नै कलाकारको अनुहार हेरेर सो कम्पनीले डिजिटल र ओभरसिज राइट्स किन्ने गथ्र्यो । त्यही पैसाले निर्माताले चलचित्र बनाउँथे ।

तर, यसले दिर्घकालमा नेपाली चलचित्रलाई नोक्सानी पुग्न गयो । हलमा दर्शक सुकेे । यूट्वूवको भ्यूज र ट्रेन्डिङले मख्ख पर्ने निर्माता अहिले बल्ल चेत्न थालेका छन् । विस्तारै उनीहरु यूट्युबबाट टाढिन थालेका छन् । निर्माता गिरीले आफ्नो आगामी चलचित्र ‘छक्का पन्जा ३’ युटुबमा नआउने घोषणा गरिसकेका छन् । बरु, थोरै रकम तिरेर हेर्न मिल्ने अनलाइन साइटको खोजीमा आफूहरु लागेको उनी बताउँछन् । चलचित्र युटुबमा आउँदा सिंगो चलचित्र क्षेत्रलाई नै प्रभाव परेको र हलमा दर्शक जान छाडेको उनको स्वीकारोक्ति छ ।

‘इन्टु मिन्टु…’ पनि नआउने
अहिले हलमा रिलिज भैरहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ पनि युटुबमा रिलिज नहुने भएको छ । आइकोर फिल्मस्ले चलचित्रको कुनै पनि सामग्रीको डिजिटल राइट्स विक्री गरेको थिएन । निर्देशक रेनशा वान्तवा राइले भनिन्-‘चलचित्रलाई डिजिटल माध्यमबाट केही रकम तिरेर हेर्ने व्यवस्था हामी गर्दैछौ । तर, युटुबमा भने चलचित्र रिलिज हुने छैन ।’

यूट्यूवमा हिट, हलमा फ्लप
नेपालमा इन्टरनेटको बिस्तारसँगै यूट्यूवका दर्शक बढिरहेका छन् । नेपाली गीतसंगीत र चलचित्र उनीहरुको प्राथमिकतामा परेको पाइन्छ । हिन्दी फिल्म हलमा गएर हेर्ने र नेपाली फिल्म यूट्यूवमा पर्खिने दर्शक बढ्दै गएका छन् । हलमा आएको-गएको पत्तै नभएका फिल्मले पनि यूट्यूवमा राम्रो भ्यूज र रेस्पोन्स पाइरहेका छन् । पछिल्लो एक वर्ष बनेका फिल्महरुमध्ये ९० प्रतिशत हलमा फ्लप छन् । तर, यूट्यूवमा भने रुचाइएको छ ।

यूट्युवमा राम्रा प्रतिक्रियाहरु आउँदा फिल्मकर्मीलाई आत्मसन्तुष्टी र प्रोत्साहन त मिल्छ, तर यसले नेपाली फिल्मको व्यापारिक उत्थानमा भने टेवा पुग्ने देखिँदैन । छिमेकी चलचित्र उद्योग बलिउडको कुरा गर्ने हो भने कुनै पनि फिल्म यूट्यूवमा रिलिज गरिएको पाइँदैन । पुराना-पुराना केही हिन्दी फिल्म मात्र युट्यूवमा भेटिन्छ । त्यसैले दर्शकहरु ती फिल्म हेर्नका लागि टिकट काट्न वाध्य हुन्छन् ।

यूट्यूवलाई चलचित्रको पब्लिसिटीका लागि अधिकतम उपयोग गर्न सकिन्छ । चलचित्रको ट्रेलर र गीतसंगीत यसमा राख्दा दर्शकहरुको चासो जागृत गर्नुपर्छ । तर, सिंगो चलचित्र नै राखिदिएर आफ्नै खुट्टामा बन्चरो हान्ने काम नगरौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्