आँखा पाक्नबाट कसरी बच्ने ?



तपाईलाई आँखामा डिल सुनिने, चिलाउने र चिप्रा लाग्ने तथा आँखा रातो हुन समस्या देखिन भएको छ ? यदि त्यसो भएको छ भने चिकित्सकलाई देखाइहाल्नु राम्रो हुन्छ । बढ्दो प्रदूषण र वर्षाका कारण अहिले आँखा पाक्ने रोगबाट धेरै मानिस संक्रमित भइरहेका छन् । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका निर्दशक डा. मोहनराज बज्राचार्यका अनुसार वर्षायाम सुरु भएलगत्तै अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको संख्यामा वृद्धि भइरहेको छ । उनले अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म आँखा पाक्ने समस्याको उपचारका लागि आइरहेको बताए ।
‘आँखा पाक्ने रोग जुनसुकै समयमा पनि हुन सक्छ, तर वर्षा्को बेला र धुलो बढी हुने समयमा यो रोग धेरैलाई लाग्न सक्छ,’ निर्दशक बज्राचार्यले भने, ‘भाइरस, ब्याक्टेरिया तथा एलर्जीका कारण हुने भएकाले यसको संक्रमण महामारीका रुपमा कुनै पनि समयमा फैलन सक्छ । त्यसकारण हामी १२ महिना सतर्क रहेर बसेका हुन्छौँ ।’ यो रोग अधिकांश बालबालिका तथा महिला र मोटरसाइकल चढ्नेमा देखिएको छ । वर्षात्को समयमा फोहोर पानी र भाइरल जीवाणु तथा धुलो, धुवाँका कारण आँखा पाक्ने रोग संक्रमण बढेको चिकित्सकहरुले बताएका छन् । आँखा पाक्ने रोग लाग्नुभन्दा पहिला आँखा चिलाउन थाल्ने, आँसु आइरहने र आँखा रातो हुने लक्षण देखापर्ने भएकाले यस्तो लक्षण देखापर्नबित्तिकै उपचार गरेमा एक सातामा निको हुने निर्दशक बज्राचार्यले बताए । उनले आँखामा यर्ता समस्या आउनेबित्तिकै औषधि पसलमा गएर जथाभाबी औषधि हाल्न नहुने जानकारी दिए ।
आँखा पाक्ने कारण
आँखा पाक्ने समस्याका धेरै कारणहरु छन् । यही कारणले आँखा पाक्छ भन्ने छैन । तर पनि धुलो, धुवाँ, प्रदूषण, दूषित पानी तथा सरसफाइ कमीका कारण आँखा पाक्ने समस्या उत्पन्न भइरहेको चिकित्सकहरुले बताउँदै आएका छन् । चिकित्सकहरुका अनुसार यो रोग भाइरस, ब्याक्टेरिया, फङ्गस, एलर्जीका कारणले लाग्ने गर्छ । यीबाहेक अरु कारण जस्तै आँखामा गलत औषधि प्रयोग, रासायनिक पदार्थस‘ँगको संसर्ग विषालु कीराको टोकाइ तथा सौन्दर्य प्रशाधन, अत्तर अन्य औषधिको साइड इफेक्टका कारण पनि आँखा पाक्ने समस्या हुने विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार भाइरस वा ब्याक्टेरियाबाट हुने यो रोग एकजनालाई हुनासाथ पूरा परिवारमा फैलिने सम्भावना अत्यधिक हुन्छ । त्यसकारण आँखा पाक्ने रोगबाट पीडित बिरामीले सार्वजनिक स्थल, भीडभाड, विद्यालय, कलेज तथा मानिसको जमघट भएको स्थानमा नजानु नै राम्रो हुन्छ । तर, एलर्जीबाट हुने संक्रमण भने एकबाट अर्कोमा सर्ने सर्भावना निकै कम हुन्छ ।
सामान्यतया नेपालमा हरपास, एड्रिनो र हरपोसजोस्टर भाइरसका कारण आँखा पाक्ने बिरामी बढी रहेको विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार ब्याक्टेरियाबाट हुने संक्रमणभन्दा भाइरसबाट हुने संक्रमण बढी खतरनाक हुने गर्छ । ब्याक्टेरियाका कारण हुने संक्रमणमा परेला धेरै सुन्निने, सु्त्दा परेला टाँसिन्छ, आँखाबाट कचेरा वा पानी बढी आउने, आँखा रातो हुनेलगायत समस्या देखापर्छ भने भाइरसबाट हुने संक्रमणमा ज्वरो आउने, रुघाखोकी लाग्ने, ज्यादै पोल्ने, काँडाले घोचेजस्तै हुने, टाउको दुख्ने, प्रकाश सहन नसक्ने र आँखाको नानीमा सुजन हुने गर्छ । आँखा पाक्ने रोग सरसफाइको कमी तथा प्रदूषण र दूषित पानीका कारण हुने भएकाले सबैले सरसफाइमा ध्यान दिन आवश्यक छ । विशेषगरी व्यक्तिगत सरसफाइमा बढी ध्यान दिने गरेमा पनि यो रोगबाट बच्न सकिन्छ । तर, वर्षा्को समयमा तथा गर्मी मौसममा वातावरण बढी प्रदूषित हुने र पिउने पानी दूषित हुने भएकाले यो समयमा स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ । यो मौसममा यो रोग लाग्ने सम्भावना बढी हुने भएकाले बढीभन्दा बढी सफा पानीले मुख धुने गर्नुपर्छ ।
चिकित्सकहरुका अनुसार आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यो धेरै संक्रमित हुने भएकाले निकै छोटो समयमा एकबाट अर्कोमा सर्छ । त्यसकारण यो रोगबाट संक्रमित भएका व्यक्ति सार्वजनिकस्थलमा नजानु नै राम्रो हुने चिकित्सकहरु बताउँछन् । आँखा पाकेको वेला सफा रुमाल प्रयोग गर्ने, कालो चश्मा लगाउने र आँखा मिच्नु हुदैन । यस्तै, संक्रमित व्यक्तिबाट अन्यमा रोग सर्न नदिन पटक–पटक साबुन पानीले हात मुख धुनुपर्ने तथा संक्रमित व्यक्तिले उपयोग गर्ने सामानलगायत उसको सम्पर्कमा नआउनु नै बचाउको मुख्य उपाय भएको चिकित्सकहरु बताउँछन् । यदि एलर्जीका कारण यो रोग लागेको छ भने आँखालाई चिसो पुर्याउने वा नक्कली आँसु दिन सकिन्छ । बढी गम्भीर स्थितिमा भने ‘नन स्टेराइड एन्टिइन्फलेमेन्ट्री’ औषधि दिइन्छ । लामो समयसम्म एलर्जीका कारण यो संक्रमण भएमा ‘टापिकल स्टेराइड ड्रप्स’ समेत दिने गरिएको चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार ब्याक्टेरियल संक्रमणमा एन्टिबायोटिक आइड्रप वा मलम दिइन्छ भने भाइरल संक्रमणमा रोगको अवस्थाअनुसार उपचार गर्न गरिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्