कशरी बाजी मारे धवल शमसेरले नेपालगञ्जमा ?



बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका विजेता धवल समशेरको नेपालगञ्जसँग धेरै लामो नाता छ । राप्रपाका तर्फबाट उम्मेदवार बनेका धवलशम्शेर राणाले ठूला राजनीतिक दलका उम्मेदवारलाई झण्डै दोब्बर मतले पछि पार्दै विजय हासिल गरे ।

को हुन् धवलशम्शेर ?
धवलशम्शेर बाँकेको नेपालगञ्जमा निकै लोकप्रिय नाम हो। धवल अहिले राप्रपाको महामन्त्री पनि हुन्। संसदको चौथो ठूलो दल राप्रपाका महामन्त्री रहेका धवलशम्शेरले आफै नेपालगञ्ज उपमहानगरपालिकामा चुनाव लड्ने भनेपछि उनलाई पार्टीले उम्मेदवार बनाएको हो। धवलको एजेन्डा एउटै छ, त्यो हो नेपालगञ्ज शहरको विकास र समृद्धि। यसकै लागि धवलशम्शेर आफूभन्दा लो प्रोफाइल भएका व्यक्तिसँग उपमहानगरपालिकाको मेयर पदका लागि भिडेका हुन्।

नेपालगन्जमा विकासप्रेमी नेताको छवि बनाएका धवलशम्शेरलाई पार्टीगत भन्दा व्यक्तिगत मत बढी गएको देखिएको छ। मेयरको उम्मेदवारी घोषणा गर्दा धवलशम्शेरले भनेका थिए–‘म २० वर्ष अघि मेयर हुँदा सुरु गरेका राम्रा योजनाले निरन्तरता पाउन सकेका छैनन्। ति योजनालाई पूरा गर्न म उम्मेदवार बनेको हुँ।’

विकासप्रेमी नेता भनेर नेपालगञ्जमा चिनिने धवलशम्शेरले नेपालगन्जलाई ‘सफा, स्वच्छ, हराभरा र औद्योगिक सहर बनाउने उद्घोष गरेका थिए। त्यसैले पनि जनताले उनलाई विश्वास गरेर पार्टी नहेरेर मत दिएको चर्चा छ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयर धवलशम्शेर सोही क्षेत्रका पूर्वमेयर हुन्। २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा स्वतन्त्ररुपमा बाँकेबाट चुनाव लडेका थिए, धवलशम्शेर। तर, उनी त्यो निर्वाचनमा सफल हुन सकेनन्। त्यसलगत्तै एमालेमा प्रवेश गरेका धवलशम्शेरलाई एमालेले २०५४ सालको निर्वाचनमा मेयरको टिकट दियो। मेयरमा एमालेबाट उम्मेदवार बनेका धवल नेपालगञ्ज नगरपालिकाको मेयर बन्न सफल भए।

त्यसपछि भने धवलशम्शेर एमाले त्यागेर राप्रपामा प्रवेश गरेका हुन्। २०६२(६३ का जनआन्दोलनअघि एमाले त्यागेका धवल २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका थिए। तर उनले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका थिए। २०७० सालको निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ मा चुनाव लडेका धवलशम्शेरले कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई कडा टक्कर दिएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्