सैघाली खबर,
काठमाडौं, साउन २२
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी साउन २६ गतेदेखि दुई चरणमा सम्पन्न हुने गरी गुनासो फर्छ्यौटमार्फत छूट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम शुरू गर्ने भएको छ ।
प्राधिकरणले आगामी २६ गतेबाट पहिलो चरण अन्तरगत भूकम्प अतिप्रभावित ८ जिल्लामा छूट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम शुरू गर्ने भएको हो । यसका लागि सर्वेक्षणमा खटिने इञ्जिनियरहरूको तीन दिने तालिम पनि आजबाट शुरू भएको छ । काठमाडौंमा शुरू भएको तालिममा १ सय ६८ जना इञ्जिनियरहरू सहभागी भएका छन् ।
तालिमको उदघाटन गर्दै प्राधिकरणका सदस्य सचिव सर्वजीतप्रसाद महतोले भूकम्प पीडितहरुलाई छिटो र छरितो रुपमा सेवा दिने दायित्व सबैको भएको बताए । उनले भूकम्पपछिको पुनर्निर्माणको कामलाई छिटो र छरितो रुपमा सम्पन्न गर्न इञ्जिनियरहरू पनि जिम्मेवारी हुनुपर्नेमा पनि जोड दिए । उनले निरन्तर पराकम्पले दिएको त्रासका कारण कतिपय ठाउँमा सर्वेक्षणको काम छूट हुन गएको पनि स्पष्ट पारे ।
‘प्राधिकरणले पहिलो चरणमा अति प्रभावित ओलखढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, नुवाकोट, रसुवामा गोरखामा छूट सर्वेक्षण तथा पुनः जाँचको काम शुरू गर्नेछ,’उनले भने, ‘दोस्रो चरणमा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र धादिङमा काम शुरू हुनेछ ।’
दोस्रो चरणको काममा १ सय ६४ जना इञ्जिनियरहरू परिचालन हुने र उनीहरूका लागि आगामी साउन २६ गतेबाट तालिम दिने कार्ययोजना तय गरिएको पनि प्राधिकरणका सदस्य सचिव महतोले जानकारी दिए ।
प्राधिकरणले आगामी भदौं मसान्तसम्म सबै गुनासो सम्बोधन हुने गरी छूट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा ८१ हजार ८२ परिवारको पुनः जाँच र ५२ हजार २ सय ८७ जना परिवारको छूट सर्वेक्षण गर्नुपर्ने प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ । प्राधिकरणले पुनर्निर्माणको कामलाई सफल बनाउन पनि सबैमा अपिल गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।