प्रदेश ५ को स्थायी राजधानी तोक्न ढिलाई भएको भन्दै आलोचना



बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले प्रदेश ५ को स्थायी राजधानीबारे धेरै पिठो पिस्नु नपर्ने बताएका छन् ।तमु ल्होसारको अवसरमा गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गरेको कार्यक्रममा पौडेलले जनताले प्रदेशको स्थायी राजधानी कहाँ चाहन्छन् भन्नेमा प्रदेश सरकार र प्रदेश सांसदहरु जानकार रहेको बताए । ‘प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका विषयमा अब पनि धेरै पिठो पिस्नुपर्छ जस्तो मलाई लाग्दैन । यहाँका जनता के चाहन्छन्, त्यो सांसदहरु जान्दछन् र त्यही आधारमा उचित निर्णय गर्छन्,’ पौडेलले भनेका छन् ।

त्यसअघि कांग्रेस नेता खेलराज पाण्डेले सत्तारुढ दल नेकपाका स्पष्ट दुई तिहाई वहुमत हुँदाहुँदै प्रदेश ५ को स्थायी राजधानी तोक्न ढिलाई भएको भन्दै आलोचना गरेका थिए ।गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बेलहिया-बुटवल ६ लेन सडक, अन्तराष्ट्रिय सभाहल, सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग लगायतका आयोजना छिट्टै हुने भएकाले प्रदेश राजधानीका लागि बुटवल उपयुक्त हुने उनको धारणा छ ।

नेकपा महासचिव पौडेलले विदा कटौतीबारे प्रधानमन्त्री र सरकारलाई सकारात्मक रुपमा ब्रिफिङ गर्ने आश्वासन दिए । धेरै विदा दिँदा देश निर्माणमा वाधा पुग्ने देखेर सरकारले केही कटौती गरेको पनि उनले स्पष्टीकरण दिए ।

शुभकामना सन्देश पठाउने विचारमा रहेको तर, गुरुङ समुदायले विदा कटौतीको विरोधमा कालो ब्यानरमा कार्यक्रम गर्दैछन् भन्ने थाहा पाएर बुटवल आएको उनले बताए ।ल्होसारमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै चरणवद्ध आन्दोलनमा रहेका गुरुङ समुदायले शनिबार बुटवलमा वृहत विरोध र्‍याली निकालेका थिए । र्‍यालीमा ५ हजार बढीको सहभागिता रहेको परिषदका सचिव ओमप्रकाश गुरुङले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्