तथ्यांक सही भएको प्रधानमन्त्री जिकिर



काठमाडौ । प्रधानमन्त्री केपी ओलीले संसद्मा आफूले आइतबार प्रस्तुत गरेका तथ्यांक सही भएको जिकिर गरेका छन् । उनले संसद्मा सम्बोधन गर्दै सरकार बनेपछिको १० महिना तथा चालू आर्थिक वर्षको पाँच महिनामा हासिल गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए । तर, प्रधानमन्त्रीले प्रस्तुत गरेका अधिकांश तथ्यांक गलत थिए,कतिपय तथ्यांक तोडमोड गरिएको थियो । सरकारी अभिलेखमै नभएको तथ्यांक प्रस्तुत गरेको तथा तथ्यांक तोडमोड गरेको भन्दै प्रधानमन्त्रीको चौतर्फी आलोचना भयो । तर, प्रधानमन्त्री ओलीले आफूले प्रस्तुत गरेका तथ्यांक नै सही भएको जिकिर गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ६८औँ वार्षिक साधारणभामा उनले झुटा आँकडा पेस नगरेको दाबी गरे ।

झुटो आँकडा प्रस्तुत गरेको छैन
‘मैले हिजो संसद्मा बोल्दा हामीले गएका १० महिनामा र चालू आवको पाँच महिनामा गरेको प्रगतिका बारेमा चर्चा गरेँ, तर ती चर्चालाई केहीले चुनौती दिएका छन्, विरोध र असहमति जनाएका छन्,’ उनले भने, ‘असहमति त जनाउन अधिकार छ, तर ती असहमतिमा आधारचाहिँ छैन, मैले पेस गरेको आँकडा तथ्यमा आधारित छ, झुटो आँकडा प्रस्तुत गरेको छैन ।

अर्थ मन्त्रालयको स्पष्टीकरण
प्रधानमन्त्री ओलीले आइतबार संसद्मा प्रस्तुत गरेको तथ्यांकका सन्दर्भमा अर्थ मन्त्रालयले स्पष्टीकरण सार्वजनिक गरेको छ । यस आर्थिक वर्षको पाँच महिनाको तथ्यांकअनुसार मुद्रास्फीतिदर ३ दशमलव ७ प्रतिशतमा झरेको दाबी अर्थ मन्त्रालयले गरेको छ । तर, हालसम्म नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको चार महिनाको मात्रै मूल्यवृद्धिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । त्यसअनुसार ४ दशमलव २ प्रतिशत नै मूल्यवृद्धि भएको अर्थ मन्त्रालयले स्वीकार गरेको छ । त्यस्तै, अर्थ मन्त्रालयले २०७५ मंसिरसम्मको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा कूल खर्च ७ प्रतिशतले वृद्धि भएको जनाएको छ । त्यसमध्ये चालू खर्च १३ प्रतिशतले घटेको र पुँजीगत खर्च २५.३ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले दाबी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्