चिकित्सक संघले आजबाट आकस्मिकबाहेकका सेवा ठप्प पार्ने



काठमाडौं । नेपाल चिकित्सक संघले आजबाट देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भएको छ ।

अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनसन बसिरहेको संघले माग सुनुवाइ नभएको भन्दै कडा संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।

संघका महासचिव डा. लोचन कार्कीले २५ दिनदेखि अनसनरत केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नबनेपछि बाध्य भएर कडा संघर्षको कार्यक्रम सार्वजनिक गर्नुपरेको बताए । देशभरका सरकारी, गैरसरकारी तथा निजी मेडिकल कलेजका आकस्मिक सेवा सञ्चालन गर्न नरोके पनि  ओपीडीलगायतका सेवा बन्द हुने जानकारी डा. कार्कीले दिए ।

संघले वार्ता र संवादबाट तत्काल समस्याको समाधान खोज्न सरकारलाई आग्रहसमेत गरेको छ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघको भनाइ छ ।

संघले थप संघर्षका कार्यक्रम घोषणा गरे पनि त्रिवि शिक्षण अस्पताललगायतले बन्द, हडताल नगर्न अपिल गरेका छन् । त्रिवि शिक्षण अस्पतालले बन्द, हडताल निषेध गर्दै त्यसविपरीत प्रस्तुत हुने चिकित्सक तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्