एउटा १३८ किलोको बोका !



अर्घाखाँचीका किसानले पालेको १ सय ३८ किलोग्रामको बोका बुटवलमा सञ्चालित कृषि मेलाको आकर्षण बनेको छ।

यही माघ २१ गतेदेखि बुटवलमण्डपमा सञ्चालित कृषि मेलामा सन्धिखर्क ११ डिभर्नास्थित जालकाँडा बाख्रा पालन समूहमा आबद्ध किसान दुर्गा आचार्यले पालेको उक्त बोका प्रदर्शनको लागि ल्याईएको हो।

किसानका लागि उन्नत विऊविजन कार्यक्रममार्फत अनुदानमा ल्याईएको अष्ट्रेलियन बोयर जातको उक्त बोका साढे दुई वर्षको भयो।

बाख्रापालन व्यवसायमा लाग्ने किसानहरुलाई आकर्षित गर्ने उद्देश्यले मेला आयोजकको आग्रहमा ल्याईएको यो बोका हेर्दै राम्रो, सफा र आकर्षक छ।

किसान आचार्यले आफूले पाल्दै आएका बाख्रालाई कुनै रोग नलागोस् भनी प्रत्येक हप्ता साबुन पानीले नुहाईदिने र दैनिक ब्रस गरिदिने बताउँछन्। ‘हाम्रा खोरहरू पनि सुधारिएका छन्, उनले भने, ‘बाख्राले गरेको दिशापिसाब खोरमा नअडिई बाहिर जाने गरी खोर बनाएका छौं, त्यो सँगै बाख्रा बिरामी छैन भने हरेक साता साबुन पानीले नुहाईदिन्छौं, दैनिक ब्रस गरिदिन्छौं।’

३ वर्ष बैदेशिक रोजगारीको लागि दुवईमा बसेका आचार्यले पछिल्लो चार वर्षदेखि व्यवसायीक रुपमा बाख्रापालनमा लागेको बताउँछन्। ‘गाउंघरमा हुर्कियो धेरै पढिएन, रोजगारीको लागि आबुधावीमा तीन वर्ष बसेँ, फर्किएर ७४ हजारमा आठ दश वटा बाख्रा किने पनि सबै मरे अहिले बोयर जातका बाख्रा पाल्न शुरू गरेको छु,’ उनले सेतोपाटीसँग भने ।

छिटो शारीरिक वृद्धि, धेरै तौल हुने बोयर जातको बाख्रामा अरु जातको बाख्रामा भन्दा रोग प्रतिरोधात्मक क्षमता बढि हुने भएकोले किसानहरु बोयर जातको बाख्रा पालनमा आकर्षित भएका हुन् ।

आचार्य आबद्ध रहेको बाख्रा पालन समूहमा कृषि मेलामा ल्याएजस्तै अष्ट्रेलियन बोयर जातका १२ वटा बोका छन्। आचार्यले एक वर्षमै एक सय किलोग्राम भन्दा बढी तौलको हुने यो जातको बोका समूहमा आबद्ध किसानहरुले पालेका बाख्राको लागि बिऊको रुपमा प्रयोग हुँदै आएको बताए।

आचार्य मात्र होईन डिभर्नाका १ सय ५३ कृषक जालकाँडा बाख्रा पालन समूहमा आबद्ध भई व्यवसायीक रुपमा बाख्रापालन गर्दै आएका छन्।

त्यसैगरी समूहमा रहेका विभिन्न उप समूहमा २ सय बढि कृषकहरु आवद्ध छन्। पहिले निर्वाहका लागि एक दुई वटा बाख्रा पाल्ने किसानले समूहमा आवद्ध भएपछि ५/७ वटा बाख्रा पाल्न थालेका छन्।

व्यवसायीक रुपमा बाख्रा पालन शुरू गरिएको ३/४ वर्ष मात्रै भएकोले समूहमा उत्पादित पाठापाठीलाई मासुभन्दा बिऊको रुपमा अरु किसानहरुलाई विक्री गर्दै आएको आचार्यले बताए।

डिभर्ना सँगै छत्रगञ्जमा १ सय २५ र भुमिकास्थान नगरपालिका नुवाकोटमा ५५ जनाको समुहले पनि व्यवसायीक बाख्रा पालन सुरु गरेका छन्।

परम्परागत बाख्रा पालन गर्दा मेहनत बढी र आम्दानी कम गरेका किसानहरुले उन्नत जातको बोयर बाख्रा पालन सुरु गरेपछि वार्षिक ५ लाखसम्म आम्दानी गर्न सफल भएको बताउँछन्।बाख्रापालन गर्न थालेपछि दिनको ४ घण्टा काम गरे पनि सजिलै मासिक ३०/४० हजार आम्दानी गर्न सकिने आचार्यले बताए। रोजगारका लागि विदेशिएका युवा पनि अहिले फर्किएर बाख्रा पालन गर्न थालेका छन्।

उत्पादन भएका पाठापाठीलाई हुर्कँदै जान थालेपछि अहिले जालकाँडा बाख्रा पालन समूहमा १ हजार बाख्रा पुगेका छन्।

त्यस्तै छत्रदेव गाउँपालिका वडा नं. ७ छत्रगञ्जमा मडेलचौर मल्टीप्लर हटमा आबद्ध १ सय २५ जनाको समुहले १ हजार २ सय बाख्रा पालन गरेका छन् भने देउराली आयआर्जन बाख्रा समुहमा आबद्ध ५५ जनाले ५ सय बाख्रा पालन गरेका छन् ।

खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रा पालन सुरु भएपछि बाहिरबाट आयात हुने खसी बोकामा कमि आउने अपेक्षा गरिएको छ।

स्रोत: सेतो पाटि

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्