बृहत सिचाई आयोजनाको काम सुरु



दाङ । बृहत दाङ सिँचाइ आयोजनाको कामले गति लिन थालेको छ । दुई वर्षअघि स्थापना भएको बृहत दाङ उपत्यका सिँचाइ योजनाअन्तर्गत अहिले साना सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ भने केही आयोजनाले गति लिएका छन ।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन आयोजनाहरूको सञ्चालन गरिएको बृहत दाङ उपत्यका सिँचाइ आयोजना कार्यालयका प्रमुख रमेशप्रसाद शर्माले बताए । साना खालका आयोजनाहरू अहिले कार्यान्वयन भइरहेको र दीर्घकालीन आयोजनका रूपमा लिइएको शारदा—दाङ र माडी–दाङ डाइभर्सनको प्रारम्भिक अध्ययन सम्पन्न गरी कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको शर्माले बताए । प्रशस्त खेतीयोग्य जमिन भए तापनि सिँचाइको अभावले जमिन बाँझै रहने स्थिति देखिएपछि जिल्ला आयोजना सुरु भएको हो ।

जिल्लामा अल्पकालीन र मध्यकालीन योजनाअन्तर्गत अहिले लिफ्ट सिँचाइ आयोजना तथा पोखरीहरूको निर्माण कार्य भइरहेको छ । गत आर्थिक वर्षमा दाङको बबई गाउँपालिकाको–३ धनवास, सोही ठाउँकै मृगखोला र राणाखोलामा, शान्तिनगर गाउँपालिका–१ ज्यामिरेमा, २ को पेदार दाउन्ने खोला, शान्तिनगर–३ को केराघारीमा पोखरी खन्नेकाम सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा–१ को चिसाखानी पोखरी, वडा–३ को थापापानी, सोही स्थानकै राम्री तथा सोही वडाकै खमारी, वडा–४ को बायाँखोला, १९ को स्यालापानीमा पोखरी निर्माणको कार्य पूरा भएको कार्यालय प्रमुख शर्माले बताए । चालू आर्थिक वर्षमा पनि नौ स्थानमा पोखरी निर्माण हुँदैछ ।

१४ स्थानमा लिफ्ट सिँचाइ आयोजना
दाङका १४ स्थानमा लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा ल्याइने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा मध्यमस्तरका ड्यामहरूको निर्माण गरी विद्युत र सोलार सिस्टमबाट पानी वितरण गर्ने गरी लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्न लागिएको हो ।

जसअन्तर्गत गत आर्थिक वर्षबाट नौवटा लिफ्ट सिँचाइ योजनाको काम अहिले सम्पन्न हुँदैछ । यसवर्ष पाँच आयोजनाका लागि टेन्डर आह्वान गरिएको छ । बबई गाउँपालिका–७ ढोलपुर, तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी, घोराही उपमहानगरपालिका–९, तुलसीपुर उपमहानगरपालिका–१७ र घोराही उपमहानगरपालिका–७ मा लिफ्ट सिँचाइ आयोजनाका लागि टेन्डर आह्वान गरिएको हो ।

५७ हजार हेक्टर जमिन सिञ्चित गर्ने लक्ष्य

बृहत आयोजना कार्यान्वयनमा आएपछि जिल्लाको करिब ५७ हजार हेक्टर जमिन सिञ्चित गर्न सकिनेछ । माडी दाङ डाइभर्सन योजनाबाट मात्रै दाङमा ४० हजार हेक्टर जमिन सिञ्चित गर्न सकिने प्रमुख शर्माले बताए । माडी दाङ डाइभर्सनका लागि २५ किलोमिटरको सुरुङ खनेर दाङमा पानी पु¥याइनेछ ।

यस्तै, माडी नदीको मुहान रोल्पाा नगरपालिका–५ स्थित पुरन गाउँमा ड्याम निर्माण गरी एक सय ५० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको पनि शर्माले बताए । सन २००८ मा पहिलोपटक अध्ययन गरिएको माडी–दाङ डाइभर्सन योजनाको कामलाई अहिले सरकारले प्राथमिकतामा राखेर काम अघि बढाइरहेको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्