उमेर हदले नेविसंघ किचलो, विधान मान्ने कि आफ्ना तान्ने ?



काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेर हदबन्दी लागेपछि थप किचलो बढेको छ ।

नेविसंघको १२ औं अधिबेशन गर्न नसकिरहेका बेला अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ थप अन्योलमा परेको छ ।

महरको राजीनामा पछि पार्टीले नेविसंघ विगठन गरी अधिबेशन तयारी समिति गठन गरेको छ । तर, कसलाई अध्यक्ष बनाउने भन्ने विषयले तयारी समिति समेत बन्न नसकेको स्रोतले बताएको छ ।

पार्टीका केही बरिष्ट नेताहरुले नै ‘नोट अफ डिसेन्ट’ लेख्दा लेख्दै बहुमतका आधारमा पारित भएको विधानमा ३२ वर्षे उमेर हदबन्दीको व्यवस्था छ ।

सोही अनुसार नेविसंघले केही स्थानीय तह र जिल्लाहरुमा नेतृत्व चयन गरेको छ । तर, केन्द्रमा भने पुनः ३२ वर्ष माथिकालाई नेतृत्वमा ल्याउन चलखेल भएको भन्दै किचलो सुरु भएको छ ।

सभापति शेरबहादुर देउवाले नै आफ्ना निकट व्यक्तिलाई अध्यक्ष बनाउनका लागि विधानमा रहेको उमेर हदलाई लत्याएर नेतृत्व चयन गर्न दवाव दिएको विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।

‘स्थानीय तह र जिल्लामा उमेर हद लगाएर नेताहरुलाई रिटायर्ड बनाउने,’ स्रोत भन्छ, ‘केन्द्रमा आफूले चाहेका मान्छे बनाउन विधान लत्याउने तयारी छ ।’

यति मात्रै नभइ कांग्रेसभित्र तयारी समितिमा रहेका व्यक्तिहरुलाई चुनावमा सहभागी बनाउने कि नबनाउने भन्ने विषयमा समेत बहस सुरु भएको छ ।

नेताहरुलाई व्यवस्थापन गर्नका लागि केहीलाई तयारी समितिमा राखेर चुनावबाट आउट गर्ने तयारी गरिएको स्रोतको भनाइ छ ।

३२ वर्ष माथिका नेतालाई नै पुनः नेतृत्वमा ल्याउने तयारी भइरहेको भन्दै आज (सोमबार) केही विद्यार्थी नेताहरुले छुट्टै भेला गर्दैछन् ।

बालमिकी क्याम्पसमा आयोजना गरिएको भेलामा ३२ वर्षे उमेर हदबन्दीलाई नमाने समानान्तर समिति गठन गर्न विषयमा छलफल हुने एक नेताले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्