दाङका ५ जनामा डेंगु भेटियो



दिपक बोहरा
दाङ,११ भदोै।
दाङमा ५ जनामा डेँगु रोगका बिरामी फेला परेका छन् । तुलसीपुरमा रहेको सिटी अस्पतालमा आएका ५ जना बिरामीमा डेँगु भेटिएको हो ।
तुलसीपुर सिटी अस्पतालका चिकित्सक सुबोध कुमार शर्माले अस्पतालमा उपचारका लागि आएका पाँच जनामा डेँगुको लक्षण देखिएको थियो । डेँगु संक्रमण हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ३ र शान्तिनगका २ जना रहेको अस्पतालका निर्देशक शर्माले बताए । ती मध्य एक जनालाई थप उपचारका लागि बाहिर रेफर गरिएको छ । भने एक जना बिरामीलाई डिस्चार्ज गरिएको उनले बताए । ती बिरामीहरुमा सामान्य ज्योरो आउने, रुघाखोकी, हातखुट्टा दुख्ने, घाँटी दुख्ने जस्ता लक्ष्ण देखिएका थिए । लक्ष्ण दिखिन साथ डेँगु परिक्षण किटले उनीहरुलाई परिक्षण गर्दा ती बिरामीहरुमा डेँगु संक्रमण भएको पाईएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय दाङले अहिले सम्म डेंगुको पुष्टि नभएको बताएको छ । डेँगु तथा मलेरिया रोग फोकल पर्सन कमल चन्दका अनुसार जनस्वास्थ्य कार्यालयमा डेँगु रोगको संक्रमण भएका बिरामी नआएको बताए एजिस जातको लामखुट्टेले टोक्दा उक्त रोगले संक्रमण गर्ने भएकाले सजग रहन सबैलाई आग्रह पनि गरेका छन् ।
आत्तिनु पर्ने अबस्था छ्रैन चिकित्सक
एडिज जातको लामखुट्टेको टोकाईबाट डेङ्गु रोग मानिशमा सर्ने जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए । चन्दका अनुसार दाङमा डेङ्गु भित्रिएपनि आत्तिनु पर्ने अबस्था नरहेको बताए ।

उनले भने ‘ लामखुट्टे सक्रिय अहिले नै आत्तिनु पर्ने छैन चन्दले भने , शहर बजारमा लामखुट्टेको बिगबिगी बढि हुने हुदा जिल्लाका विभिन्न स्थानमा यसको लक्षण पहिले पनि देखिएको थियो । उनले भने ‘ शहर बजार क्षेत्रमा लामखुट्टेले फुल पार्नका लागि उर्पयुक्त वातावरण हुने भएकाले बढि लामखुट्टेको बिकास हुन्छ र शहरमै लामखुट्टेको टोकाईबाट सर्ने रोगका बिरामीहरु हुने गर्छन् ।’
डेंगुका लक्षण
फोकल पर्सन चन्दका अनुसार डेंगु अति तीव्र खाले विषाणुजन्य रोग हो । यो रोग लागेमा एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरू दुख्ने, आँखाको गेडी दुख्ने, अरुचि हुने, पेट तथा आन्द्रामा गडबडी हुने र डाबर आउने हुन्छ । केही बिरामीको शरीरमा सुरुमै रातो बिमिरा आउँछन् ।

त्यस्तै, शरीरमा डन्डिफोरजस्ता डाबर देखिन्छन । ज्वरो आइरहेका अवस्थामा नाक तथा गिजाबाट रगत बग्ने र छालामुनि रक्तश्राव हुन्छ । तर, डेंगु हिमोराजिक फिभरबाहेक अन्य ज्वरोमा मृत्युदर ज्यादै न्यून छ । यस्ता बिरामीलाई विशेष हेरचाह गर्न अस्पताल भर्ना गर्नुपर्छ । यो रोगका बिरामी सामान्यतया वैशाखदेखि मंसिर महिनासम्म देखिने गरेका छन ।
कस्तो ठाउबाट सक्रिय हुन्छ लामखुट्टे ?
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन चन्दका अनुसार लामखुट्टेले दिउँसोको समयमा टोक्छ । एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने उक्त लामखुट्टे अन्य लामखुट्टेभन्दा अलि ठूलो आकारको र कालो–सेतो छिर्केमिर्के रङको हुन्छ । सहर तथा नगरोन्मुख बस्तीहरूमा पाइने यस्ता लामखुट्टे बस्ने स्थान नष्ट गर्नु नै रोगबाट बच्ने प्रमुख उपाय हो ।

त्यसैले खुला स्थानमा राखिएका मोटरगाडीका टायर, प्लास्टिकका बोतल, चिया खाएर फालेका प्लाष्टिकका गिलास , प्लेटसहितको गमला, फुटेका भाँडाकुँडा तथा खपटा, सिमेन्ट पोतिएका पानी जम्ने साना स्थान र विविध प्रयोजनका लागि जम्मा गरेर राखिएका पानीका भाँडाहरू नष्ट गर्नुपर्छ । त्यस्तै, यस जातका लामखुट्टेले आफ्नो वृद्धिविकास पानी जम्ने स्थानमा गर्ने भएकाले घरवरपर पानी जम्ने खाल्डो भएमा पुर्नुपर्छ ।
बच्ने उपायहरू
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसको टोकाइबाट बच्नु नै मुख्य उपाय हो । त्यसैले पूरा शरीर छोपिने लुगा लगाउने र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नुपर्छ । हातखुट्टामा लामखुट्टे भगाउने क्रिम लगाउनाले पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । डेंगु सार्ने एडिज लामखुट्टेले मानिसको बस्तीवरिपरि प्राकृतिक वा कृत्रिम रूपले जमेको पानीमा फुल पार्छ ।

त्यसैले बाटा, बाल्टिन , प्लेटसहितको गमला, एयरकन्डिसनर, लोटा, गिलास, कतारो, खुला बोतलहरू, थोरै भन्दा थोरै पनि पानी जम्ने भाँडाहरू (जस्तै– सिसीको बिका), खुला पानीको ट्यांकी वा खुला पानीका भाँडाहरू नष्ट गर्नुपर्छ । पानी जम्ने स्थान राख्नु हुँदैन । डेंगु ज्वरोको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नुपर्छ । यो रोग चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष निगरानीमा उपचार गरे निको हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्