मलेसिया रोजगारीको मेडिकलका लागि १ सय ३० संस्था छनोट (सुचि सहित)



काठमाडौं-वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न अनुमति पाउने स्वास्थ्य संस्थाहरुको संख्या १ सय ३० पुगेको छ । मंगलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको पूरक अनुगमनको नतीजा अनुसार मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको संख्या १ सय ३० पुगेको हो ।

गत असार २० गते सूचीकरण हुन आवेदन गरेका २ सय ९० मध्ये ९९ वटा स्वास्थ्य संस्थाहरु छनोट भएका थिए । त्यसको दुई दिनपछि असार २२ गते मन्त्रालयले छनोटमा नपरेका वा शिकायत भएका स्वास्थ्य संस्थाहरुलाई तीन दिनको समय दिएर पूरक अनुगमनका लागि आवेदन दिन मौका दिएको थियो ।

मन्त्रालयको सूचना अनुसार मन्त्रालयमा ५८ वटा स्वास्थ्य संस्थाहरुले पूरक अनुगमनका लागि आवेदन दर्ता गराएका थिए । त्यसमा मन्त्रालयले गरेको अनुगमनका आधारमा थप ३१ संस्थाहरु तोकिएको मापदण्ड पूरा गर्न सफल भएका छन् । सूचीकरण हुन आवेदन दिएका २२ वटा संस्थाहरु दोश्रो चरणको अनुगमनमा पनि मापदण्डभित्र पर्न असफल भएका छन् ।

एक्सरे मेसिन नभएको, प्रतीक्षा कक्ष मापदण्ड अनुसार पर्याप्त नरहेको, कतिपयको उपकरण खरीदको बील नभएको, कतिपयको अटोमेशन नभएको र कतिपयको गलत तरीकाले अनुगमन फर्म भरेको कारण मलेसिया सरकारबाट प्राप्त भए बमोजिमको मापदण्ड पूरा नगरेको मन्त्रालयले जनाएको छ ।

पूरक अनुगमनका लागि निवेदन दिनेहरुले लामो समयदेखि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गरिआएको, परीक्षणमा असफल भए आन्तरिक रोजगारी पाएका कामदारहरुले रोजगारी गुमाउने, कतिपयले बाबु आमा र परिवार पाल्न नसक्ने जस्ता कारण उल्लेख गरेका छन् । निवेदन दिएका मध्ये ५ वटा स्वास्थ्य संस्था अनुगमनमा जाँदा बन्द रहेको मन्त्रालयले जनाएको छ ।

हरि राम पाण्डे समेत पाँच जनाको उजुरीमा अलिमा डायग्नोष्टिक सेन्टर सिनामंगल, प्रधान डायग्नोष्टिक सेन्टर विर्तामोड झापा, माँ जानकी ईन्टरनेशनल मेडिकल सेन्टर प्रा।लि जनकपुर, कम्प्लिट डायग्नोष्टिक सेन्टर जनकपुर, विश्वास मेडिकल एपोलिक्लिनिक प्रा।लि। घोराही पहिलो पटक सफल भएपनि पूरक अनुगमनमा सूचीकरण हुन असफल भएका छन् ।

पाण्डेको समुहले यी संस्था माथि मापदण्ड नपुगेको भएतापनि छनौटमा परेकोले खारेज गरी पाउँ भनी निवेदन दिएका थिए । पूरक अनुगमनमा यी संस्थाको माण्डदण्ड अनुसार उपकरण नरहेको पाइएको सूचनामा उल्लेख छ ।

मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि शुरुमा आवेदन दिने स्वास्थ्य संस्थाको संख्या २ सय ९० रहेको थियो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने आशमा व्यवसायीहरुले स्वास्थ्य संस्थामा करोडौं लगानी गरेका छन् । परीक्षणमा असफल हुँदा उनीहरुको लगानी जोखिममा परेको छ ।

मन्त्रालयले छनोटमा परेका सबै स्वास्थ्य संस्थाहरुको नाम समावेश गरेर तत्कालै मलेसिया पठाउने तयारी गरेको छ । गतवर्ष जेठ २ गते श्रम मन्त्रालयले मलेसियाको रोजगारीमा जाने कामदारको श्रम स्वीकृति रोक्नु अघि जम्मा ३७ वटा मेडिकल मलेसिया रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्न सूचकिरण भएका थिए । मन्त्रालयले तयार पारेको नयाँ सूची मलेसिया गएपछि करिब १४ महिनादेखि बन्द रहेको रोजगारी खुल्ने अपेक्षा गरिएको एक वैदेशिक रोजगार व्यवसायीले बताए ।

नेपालस्थित मलेसियाको दूतावासले उनीहरु सबै मलेसियाले तोकेको मापदण्ड अनुसार रहेको बताउँदै आएको छ । नेपाल सरकारले छनोट गरेका १ सय ३० स्वास्थ्य संस्थाहरुलाई मलेसियाले आफ्नो प्रणालीमा आवद्ध गर्छ–गर्दैन त्यो भने एकिन नभएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य संस्था छनोट कार्यमा मलेसियाली प्रतिनिधि संलग्न रहेका थिएनन् ।मध्यान्ह

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्