विकास, समृद्धि, रोजगार हाम्रो मुल एजेण्डा हो



एमाले दाङको पूर्व अध्यक्ष रहनुभएका नरुलाल   चौधरी एमालेको तर्फबाट घोराही उपमहानगरपालिका मेयर पदका उमेदवार हुनुहुन्छ । उहाँ सिङगो थारु समुदायको समेत प्रतिनिधित्व गर्नु भएको छ चौधरीसँग गरिएको कुराकानी सार

घोराही उपमहानगरपालिकाको मेयर पदमा तपाईको उम्मेदवारी किन ?
जनताको सेवा गर्नका लागि मेरो उम्मेदवारी हो । नरुलाल चौधरीको आफ्नो व्यक्तिगत अपेक्षा अथवा चाहनाले मात्र उम्मेदवारी भएको होइन । सिंगो एमालेको एक मतका साथ यहाँको समग्र विकासका लागि म अघि बढेको हो ।  घोराही उपमहानगरपालिकाको मुहार फेर्नका लागि अहिले नेकपा एमाले चाहिएको छ । यो मुलुकको विकास गर्न सक्ने भिजन भएको पार्टी भनेको नेकपा एमाले मात्र हो । यहाँको समृद्धका लागि हामीले विभिन्न योजनाहरु लिएका छौं ती योजना कार्यान्वयनका लागि हामीले नै गर्न सक्ने भएकाले उम्मेदवार दिइएको हो ।
Narula copy.jpg 11
निर्वाचनमा तपाईले कस्ता  एजेण्डा लगेर जादैहुनु हुन्छ  ?
हामी जनताको हकअधिकार स्थापित गर्ने कुरामा मात्रै होइन यहाँको  विकास, समृद्धि, रोजगार र सुशासनको आकांक्षालाई संवोधन गर्नेगरी नयाँ कार्यक्रम ल्याउदैछौ । अहिलेसम्म एमालेले राष्ट्रियताको पक्षमा अडिग भएर बसेको छ । जनता र जनजिविकाको पक्षमा छ र वृद्ध भत्तालगायतका थुप्रै सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन त एमाले अगाडि नै छ । यसलाई हामीले हिजो केन्द्र सरकारमा रहदा ल्यायौं अव त स्थानीय सरकार बन्दैछ । घर आँगनमै बन्ने सरकार सञ्चालन गर्ने अवसर यदि मतदाताहरुले दिनुभयो भने नागरिकका सुखदुखका हरेक काम र सामाजिक सुरक्षा, विकासका कार्यक्रम ल्याउनेछौ यो हाम्रो प्रतिवद्धता हो । २० वर्षपछि नागरिकले जनप्रतिनिधि पाउदैछन । लामोसमयसम्म जनप्रतिनिधी नपाउदा नागरिकले दुख, पीडा भोग्नु परेको छ । अझ भन्ने हो भने गणतन्त्र आएको महसुस गर्न पाएका छैनन । त्यसैले नयाँ संरचना अनुसार ऐतिहासिक चुनाव हुदैछ । त्यसबाट आउने प्रतिनिधीले जनताको पक्षमा काम गर्ने हो । त्यसकालागि हामी तयार भएर आएका छौ । पहिलो कुरा त जनतालाई सुशासन चाहिएको छ । जनप्रतिनिधी नहुदा नागरिकले धेरै समस्या भोग्नु परेको छ । हामी जनतालाई सुशासन दिन चाहन्छौ ।  त्यस्तै पारदर्शीतालाई बढावा दिन चाहन्छौ भने घोराही उपमहानगरपालिकालाई भ्रष्चारमुक्त नगर बनाउन चाहन्छौ ।

विकास निर्माणका कुरा पनि उत्तिकै प्राथमिकता दिनेछौ । घोराही उपमहानगर त्रिपुर, रामपुर,लक्ष्मीपुर, सौडियार, सैघा, घोराही नगरपालिकाले बनेको हो । यी सवै मिलेर १९ वटा वडा बनेका छन । यी सवै वडाहरुलाई बाटोले जोड्ने, बनेका सडकहरुको स्तरवृद्धि गर्ने, खासगरी ५४ सालमा निर्वाचित हाम्रो पार्टीका तर्फबाट मेयर बन्नु भएका अम्मर डाँगीलगायतका जनप्रतिनिधीहरुले थालेका रिङरोडको कामलाई पुरा गर्ने, जुन राम्रा कामहरु थिय तिनीहरुलाईनिरन्तरता दिने र त्यस्तै नयाँ संरचनाअनुसारको अर्को नयाँ रिङरोड निर्माण गर्ने योजना ल्याएका छौ । प्रत्येक बाटाहरुमा वृक्षारोपण गर्ने जसले यहाँको वातावरणलाई थप स्वच्छ बनाउनेछ । यस्तै सडकहरुको स्तरवृद्धि, पुलपुलेसाहरु निर्माण गर्ने कुरालाई पनि हामीले प्राथमिकताकासाथ काम गर्नेछौ । त्यस्तै दाङ पर्यटकिय क्षेत्र पनि हो । यहाँका सम्भावित क्षेत्रहरुको विकास गर्ने, उपमहानगरकै लक्ष्मीपुर, रामपुर, सैघा, धारपानी क्षेत्रमा भ्यूटावर निर्माण गर्ने, प्याराग्लाइडिङको सफल उडान भइसकेका क्षेत्रमा त्यसलाई व्यवसायिक रुपमा अगाडि बढाएर पर्यटक आकर्षण गर्नकालागि पूर्वाधार तयार गर्ने योजना पनि हामीले ल्याएका छौ ।  त्यस्तै प्रसस्त तालतलैया पनि छन हामीसंग, बाह्रकुने दह, भोटेदहलगायतका तालतलैया, त्यस्तै अम्वीकेश्वरी, धारापानीलगायतका पुराना ऐतिहासिक मठमन्दिर पनि छन । तिनीहरुको उचित संरक्षण गर्दै विकास गर्ने योजना पनि छ । यहाँका थारु, मगरलगायतका जाति, जनजातिका संस्कृति पनि छ ।

थारुग्राम, मगरग्रामजस्ता संरचनाको विकास गर्दै पर्यटनलाई बढावा दिने योजना पनि छ । जहाँ नमूना होमस्टे सञ्चालन गर्न सकिन्छ र त्यसले पर्यटनको विकास र रोजगारको सिर्जना गर्नेछ । यसलाई संस्थागत रुपमा अगाडि बढाउनकालागि उपमहानगरपालिकामा पर्यटन बोर्डको गठन गर्ने योजना लिएर आएका छौ । त्यस्तै प्रत्येक वडामा पर्यटन डेस्क स्थापना गर्ने र त्यसले केहि न केही रोजगार सिर्जना गर्नेछ भन्ने ध्यये राखेका छौ । त्यसैगरी घोराही बजारलाई थप व्यवस्थित गर्ने, वढ्दो सवारी साधनलाई व्यवस्थित गर्ने र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बैकल्पिक सडकको निर्माण गर्ने योजना पनि हामीले बनाएका छौ । त्यस्तै वजारबाट उत्पादन हुने फोहोरको सहि व्यवस्थापन गर्दै त्यसलाई मोहरमा बदल्नकालागि आवस्यक प्रविधिको विकास गर्ने, प्रदूर्षण कम गर्ने खालका कामहरुलाई आगडि बढाउनेछौ । त्यसैगरी घोराही उपमहानगरलाई शुद्ध पिउने पानी र सिंचाइकालागि मुलको संरक्षण, बोरिङ सिष्टम, पानीका स्रोत संरक्षणकालागि वृक्षारोपण र सिंचाइकालागि बहुउद्देश्यीय ड्यामको निर्माण गर्ने योजना पनि बनाएका छौ ।  उपमहानगरपालिकाको उत्तरतर्फ खहरेखोला छन । ती खोलाहरुमा ड्याम निर्माण गरेर सिंचाईकालागि व्यवस्थापन गर्ने, त्यस्तै मुलहरु सुक्न नदिनकालागि ती ड्यामहरुले रिचार्जको काम गर्नेछन । यी सवै विकास, समृद्धिका अवधारणालाई मुर्तरुप दिन एमालेका उम्मेदवारहरुलाई विजयी गराउनुहुनेछ भन्ने आशा गरेका छौ ।
त्यस्तै घोराही नगरक्षेत्र अव्यवस्थित बन्दै गएको देखिन्छ । यहाँको जमिनको सहि सदुपयोग गर्न भूउपयोग नीतिअनुसार काम गर्ने, यहाँको जमिनमा वढिभन्दा वढि कृषि उत्पादन गर्नकालागि कृषि क्षेत्रको विकासलाई पनि उत्तिकै प्राथमिकताका साथ काम गर्नेछौ । यहाँका साना उद्योग, कुखुरापालन व्यवसाय, माहुरी पालन व्यवसाय, बाख्रापालन व्यवसायलाई सञ्चालन गर्नकालागि विशेषज्ञ डक्टर, प्राविधिक छैनन, हामीले कृषि प्राविधिकहरुको व्यवस्था गर्नेछौ । जसले उद्योग, व्यवसाय, कृषि क्षेत्रको विकास हुदा जनताले रोजगारी पाउनेछन र नागरिकको जीवन उकास्नकालागि त्यसले ठूलो भूमिका खेल्ने आशा गरेका छौ । यस्तै यहाँको जग्गा व्यवस्थापन गर्ने कुरा पनि छ । कैयौं भूमिहीन, सुकुम्वासीहरुको पुनस्थापनाको काम पनि गर्नुपर्नेछ । अहिलेसम्म बनेका सुकुम्वासी आयोग व्यवस्थित हुन सकेनन । यसअघि एमालेको ९ महिने कालमा सुकुम्वासीहरुलाई पुर्जा वाडिएको छ । अव फेरि राम्रो संग छानवीन गरेर वास्तविक सुकुम्वासीहरुलाई पुनस्थापीत गर्ने काम हामीले गर्नेछौ । त्यस्तै शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण घट्दो छ । विद्यालयमा गुणस्तर छैन भन्ने छ । गुणस्तर कायम गर्नकालागि प्रत्येक विद्यालयमा विषयगत शिक्षक अनिवार्य गर्नेछौ । प्राविधिक शिक्षा अनिवार्य गर्ने जसले दक्ष जनशक्तिको उत्पादन गर्नेछ । अहिले पनि विकट क्षेत्रका स्वास्थ्य संस्थाहरु मासिकाहरुले चलाइरहेको अवस्था छ । कम्तिमा पनि प्रत्येक वार्डमा मिनि हस्पीटल सञ्चालन गर्ने योजना पनि बनाएका छौ । राप्ती उपक्षेत्रीय अस्पताललाई छिटो स्वास्थ्य विज्ञान प्रतिष्ठानकारुपमा विकास गर्नेलगायतका थुप्रै क्षेत्रको विकास गर्न हाम्रो क्षमता छ, भिजन छ, दाङलाई पाँच नम्वर प्रदेशको राजधानीको रुपमा स्थापीत गर्न आवस्यक पूर्वाधार र वातावरण तयार गर्ने नमूना काम र नमूना शहरको रुपमा विकास गर्ने योजना हामीले बनाएका छौ ।
यदि घोराही उपमहानरपालिकाको मेयर भएपछि नागरिका काम कसरी गर्नु हुन्छ ?
मैले माथि पनि भने , हाम्रा योजना, कार्यक्रमको कार्यान्वयन गर्ने हो भने नागरिकले घरदैलोमै सरकार आएको महसुस गर्नेछन । खासगरी जनताले विकासका माध्यमबाट, रोजगारीको सिर्जना गरेर, शिक्षामा गुणस्तर कायम गरेर, सरकारी विद्यालयको गुणस्तर सुधार गरेर, हामीलाई उपचारकै लागि बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गरेर, घर आगनमै उपचार सेवा प्रवाह गरेर, स्वच्छ पानी, विजुली वत्तिको सेवा दिएर साँच्चीकै नागरिकलाई गणतन्त्र आयो, सरकार छ भन्ने अनुभुत हामीले गराउनेछौ । त्यो एमालेले गर्न सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्