असल कर्म र इच्छा शक्तिले देश बन्छ



पुस्तौंदेखि पीडा सहेर बस्दै आएका महोत्तरी बर्दिबासका ५५ घर परिवारलाई लक्षित गरी बनाइएको एकीकृत नमुना मुसहर बस्ती वैशाख १ मा हस्तान्तरण हुँदै छ । बस्तीमा बसोवास गर्ने मुसहरहरू दंग छन् । सहयोग संकलन गरी धुर्मुस (सीताराम कट्टेल) र कुञ्जना घिमिरे (सुन्तली) ले तीन महिनामा एउटा बस्ती नै तयार पारी हस्तान्तरणको चरणमा पुर्‍याउनुभएको छ । प्रस्तुत छ, अन्नपूर्णकर्मी राजकरण महतोले मुसहर बस्ती निर्माणमा केन्द्रित रही उहाँहरूसँग गरेको कुराकानीको अंशः

नयाँ वर्षको पहिलो दिन मुसहर बस्ती हस्तान्तरण गर्दै हुनुहुन्छ । कस्तो लागेको छ ?

धुर्मुसः आज हाम्रा लागि अत्यन्तै खुशीको दिन हो । मुसहर बस्ती निर्माणसँगै आज एकीकृत बस्ती विकासको हामी ह्याट्रिक पार गर्दै छौं । मुसहर समुदायमा हाँसो, खुसी छर्छौं भन्ने सपना साकार भएको दिन हो आज । पुस २५ मा एकीकृत बस्ती शिलान्यासका दिन वैशाख १ नयाँ वर्षका दिन हस्तान्तरण गर्ने वाचा गरेका थियौं, त्यो वाचा पूरा गरेका छौं । हामी चाहन्छौं- सबैले यसैगरी आफ्ना वाचा पूरा गरौं ।

सुन्तलीः मुसहर बस्ती हस्तान्तरणको यो दिनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र मानवताको सन्देश दिने ठानेको छु । अन्य स्थानमा बस्ती बनाएर सेवा प्रदान गरेका थियौं । मुसहर बस्ती बनाएर धर्म (पुण्य) प्राप्त भएको भान भएको छ । मुसहर बस्तीले हामीलाई एकसूत्रमा बाँध्ने काम गरेको छ । यो सफलता हाम्रो मात्रै होइन तीन करोड नेपालीको हो ।

तपाईंहरूले सुनेको मुसहरबस्ती नजिकै बसेर नियाल्दा कस्तो अनुभूति गर्नुभयो ?

धुर्मुसः पिछडिएको मुसहर समुदाय सोझो, मिलनसार र मेहनती छ । उनीहरूमा मानवीय भावना छ । मुसहरहरूले दिलोज्यान दिएर बस्तीमा काम गरे । मुसहरहरू धर्तीपुत्र रहेको हामीले महसुस गर्‍यौं । पत्रकार र कलाकारको संयुक्त प्रयासले ल्याएको आमूल परिवर्तन हो, यो एकीकृत नमुना बस्ती ।

सुन्तलीः मुसहरहरू पीडामा रहेको सुन्यौं । संगत गर्दा मुसहरहरू पीडितमा नै रहेको पायौं । गरिबी, अशिक्षा, र बेरोजगारीभित्र पीडा रहेको हामीले पायौं । मुसहर बस्ती परिवर्तन गर्न विभिन्न संघसंस्थाले पनि काम गरेको सुन्यौं । हामीले काम सुरु गर्दा धेरैले भन्नुभयो ख्याल गर्नु तपाईंहरू असफल हुनुहोला । हिजो सबैको सहयोग नहुँदा बस्ती राम्रो भएन ।

हामीले बस्ती बनाउँदा सबैको सहयोग पायौं । बस्तीमा आज वास छ । भोलि राम्रो गाँस, शिक्षा र रोजगारीले मात्र बस्ती राम्रो बन्छ । त्यसैले यसमा सबैले सहयोग गर्नुपर्छ । बस्तीभित्रका मानिसहरूको मन स्वच्छ बनाउन जरुरी छ । घर जिन्दगीभरको सपना हो । यस किसिमको घरमा बस्ने यहाँका मुसहर दाजुभाइ दिदीबहिनीको सपना सायदै पूरा हुन्थ्यो । हाम्रो प्रयत्न, सहयोगी मनहरूको साथ र उहाँहरूको लगनशीलताले घर बनेको छ ।

पहाडको मान्छे कसरी मुसहर बस्तीमा पस्नुभयो ?

धुर्मुसः पूर्व-पश्चिम राजमार्ग सफाइका क्रममा गत वर्ष पुस १३ गते यहाँ पाइला टेकेका थियौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुस ९ देखि १७ सम्म सरसफाइ अभियान सञ्चालन गरेको थियो र त्यसै क्रममा हामी पुस १३ गते यहाँ आइपुगेका थियौं ।

 

Yamaha

मुसहर बस्ती निर्माणमा कसरी जुट्नुभयो ?

धुर्मुसः बस्तीमा आइपुग्दा हाम्रा आँखा साँच्चिकै रसाएका थिए । रोग, भोक र शोकमात्र होइन, पुस्तैनी दुःख र अभावको जाँतोमा पिसिइरहेका दीनहीन मुसहर समुदायको दुरवस्थाले हामीलाई छटपटी भएको थियो । हाम्रो हृदय कटकटी खाएको थियो । बस्तीमा बालविवाह चरम थियो । पोषणयुक्त आहारको अभावमा बालबच्चाहरू कुपोषणको सिकार थिए । बालबच्चाको भरणपोषण, रेखदेख गर्नुपर्छ भन्ने चेतना थिएन । पुसमा शीत तपतपी चुहिने घर, ओढ्ने ओछ्याउने थिएन । रोगी, सुत्केरीहरू पराल ओछ्याएर सुतिरहेका । कठ्यांग्रिइरहेका । हृदयविदारक अवस्था थियो । बच्चाबच्चाहरू कोही पनि विद्यालय जाँदैनथे । यी दृश्यले हामीलाई निकै भावुक बनायो ।

सुन्तलीः अभावै अभावमा रहेका मुसहरसँग धुर्मुस-सुन्तली थिए । अरू देशमा खान नपाएको, लगाउन नलाएको सुत्न घर नभएको जस्ता थुप्रै समस्या सुनेका थियौं, मुसहर बस्ती पस्दा यस्तै समस्या पायौं ।

बस्तीमा आएपछि पहिला के गर्नुभयो ?

धुर्मुसः मुसहर बस्तीमा हाम्री आएपछि गाँस, वास र कपासको व्यवस्था गर्‍यौं । शीतलहरबाट बचाउन न्यानो बाँड्यौं । आज सिंगो बस्तीको मुहार फेर्‍यौँ।

सुन्तलीः हाम्रो प्रेरणा र स्कूलका शिक्षक शिक्षिकाको माया पाएर अहिले सबै केटाकेटीहरू विद्यालय जान्छन् । कपीकलम र ड्रेससहित विद्यालय जाँदा हाम्रो मन खुसीले पुलकित छ । ती भीडमा हामी हाम्रै छोरी भेटाउँछौँ । तीनवर्षे काखेछोरी, जसले मेरो उपनाम मात्रै जान्दछिन्- धुर्मुस्बाबा । उनलाई छाडेर समग्र बालबालिकासहितको खुसी खोज्न आएको सार्थक भएको भान हुन्छ हामीलाई ।

कसरी बस्ती बनाउन आँट गर्नुभयो ?

सुन्तलीः सुनेको, देखेको र भोगेको कुरामा फरक पायौं । परैबाट भन्ने तर नआँट्ने । हामीलाई सरसफाइका बेला आन्दोलनकारीले पनि सहयोग गरेका थिए । त्यति बेला मधेसमा आगो बलेको थियो । काम गर्न सजिलो कहाँ छ र । सबै ठाउँमा गाह्रो छ । गाह्रो भएकै ठाउँमा काम गर्न मजा आउँछ । मानवता र सद्भावका लागि हामी तराई झर्‍यौं । तराई पनि हाम्रो नेपाल हो भनेर दिल खोलेर तराई झर्‍यौं । हामीले हिमाली सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माण गर्‍यौं ।

पहाडी जिल्ला काभ्रेको डाँडा गाउँमा एकीकृत नमुना पहरी बस्ती बनायौं । अहिले तराई-मधेसमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गर्‍यौं । हो, अब हामी गर्वका साथ भन्छौं- एकीकृत बस्ती निर्माणमा हामीले ह्याट्रिक पूरा गर्‍यौं । मात्रै तीन महिनामा मुसहर बस्ती बनायौं । छियाछिया भएका मनलाई एक बनायौँ । समग्रमा हिमाल-पहाड-तराईलाई सद्भावको एउटै सूत्रमा उन्यौं । रकेटको स्पिडमा काम गर्नुपर्छ, अनिमात्र देश बन्छ । हाम्रो मूलभाव यही हो ।

धुर्मुसः स्वच्छ काम गर्नेहरूलाई जहाँ पनि सफलता मिल्छ । आजको सन्दर्भमा वचनले मात्रै सद्भाव वृद्धि गर्न सक्दैन । आश्वासनका दाउराले मात्रै चुल्हो तात्दैन । व्यथाको घाउ वचनले मात्रै निको हुँदैन । भित्रैदेखि दत्तचित्त भएर कर्ममा होमिनुपर्छ । त्यसैले त ठडियो एकीकृत नमुना मुसहर बस्ती । विविध भाषाभाषी, जातजाति, समुदाय र सम्प्रयादको सुयोग्य फूलबारी हो नेपाल । एक आपसलाई तोडेर होइन जोडेर मात्रै समुन्नतिको राजमार्ग खडा गर्न सकिन्छ । एकीकृत नमुना मुसहर बस्ती मधेस विकासको आधाशिला मात्रै होइन, देश निर्माणको प्रक्रिया पनि हो ।

कलाकार मान्छे तपाईंहरू कसरी समाज सेवामा लाग्नुभयो ?

सुन्तलीः यो पनि हसाउने काम नै हो । जसरी पनि हसाउनै पर्छ भन्ने हामीलाई लाग्यो । भूकम्पपीडितको हामी काम गर्नुपर्छ भन्ने कुरा भूकम्पले नै पाठ सिकायो । नेपालीले साथ दिनुभयो र हामी समाज सेवामा लाग्यौं ।

धुर्मुसः जब देशमा भुइँचालो गयो । मानिसहरू दुःखमा परे । उनीहरूको सहयोगी बन्नुपर्छ भन्दै हामी एकीकृत बस्ती विकासमा लाग्यौं । हामीलाई मुख्यतः भूकम्पले नै पाठ सिकायो ।

मुसहर बस्ती नै किन रोज्नुभयो ?

धुर्मुसः भूकम्पपीडितका लागि दुईवटा बस्ती बनायौं । दुई वर्षदेखि भूकम्पपीडितहरू पीडामै छन् र मुसहरहरू वर्षौंदेखि पीडित थिए । त्यही भएर हिमाल, पहाड र तराईलाई एकताको सन्देश सामाजिक सद्भावको सन्देश लिएर तराई झर्‍यौं ।

सुन्तलीः जहाँ दिनहुँ भुइँचालो गइरहेको थियो । कसैले पत्तै पाउँदैनथ्यो । मानवता सद्भाव र विकासको दृष्टिकोणले विकास गर्न मुसहर बस्ती रोज्यौं । त्यहीमाथि छिछि दूरदूरको अवस्था थियो मुसहरहरूलाई । त्यो चिर्न हामी तराई झर्‍यौं ।


धुर्मुस सुन्तली राजनीतिमा लाग्न देशभरि विकास गरे मान्छे आकर्षित गर्न लागेको छ भन्ने कुरा छन् ।साँचो कुराचाहिँ के हो ?

धुर्मुसः अहिले नै यो कुरामा कुनै सत्यता छैन । अहिले देश र जनताका लागि काम गर्ने बेला छ । निःस्वार्थ भावनाले अघि बढेका छौं ।

सुन्तलीः राजनीति आफैंमा नराम्रो कुरो होइन । यसलाई स्वार्थी व्यक्तिहरूले नखेलिने खेल खेलेर राजनीतिको महत्वलाई कमजोर बनाएका हुन् । हरेक ठाउँमा राजनीति हुन्छ । त्यसबाट हामी टाढा बस्न सक्दैनौं । कुनै व्यक्ति पार्टीले देश परिवर्तन गर्न अघि बढ्यो भने सहयोग र समर्थन गर्छु । राजनीति देश र जनताका लागि गर्ने चिज हो तर नेताहरूले आफ्ना लागि मात्र राजनीति गरे । देश र जनताले मागे राजनीति गर्न एकपटक सोच्छु।

अन्तमा तपाईंहरू के भन्नुहुन्छ ?

धुर्मुसः नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू तथा सहयोगी मनहरू हाम्रा लागि भगवान् हुन् । तीनवटा बस्ती बनाउन जसले तनमनधनले सहयोग गर्नुभयो उहाँहरूलाई लाखौं धन्यवाद । तोकेकै समयमा देशमा चुनाव होस् । गाउँमा सरकार पुगेको नागरिकले महसुस गरोस् । हाम्रो भन्दा राम्रो मान्छे चुनाव जितेर जनप्रतिनिधि बनेर आऊन् । देशमा विकासको लहर ल्याउन, त्यो सुखद वर्ष बनोस् २०७४ साल ।

देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना । एकीकृत विकासकै अवधारणाले देश बन्छ । यदी हामी साँच्चिकै देश बनाउँछौँ भनेर लाग्छौँ भने एकीकृत बस्ती विकास गर्नैपर्छ । देश रेडिमेड भाषणले बन्दैन । असल कर्म र इच्छाशक्तिले मात्रै बन्छ । देश शक्ति, पैसा र पावरले बन्ने होइन, टाइमिङको आवरले बन्ने हो । आन्दोलन र भाषणले मात्रै मुलुक बन्दैन, सुशासनले बन्ने हो । स्पष्ट रोडम्याप र विकासको खाका चाहिन्छ देश बन्न ।

बालमैत्री, अपांगतामैत्री, वातावरणमैत्री, संरचना कागजमा लेखिएर हुँदैन । त्यो पूर्वाधारको विकासका लागि पनि बस्ती एकीकृत नै हुनुपर्छ । अर्को, हामीले समतामूलक समाजको धेरै कुरा गर्‍यौं । साम्यवादको पाठ पनि पढ्यौं । यही हो समानुपातिक, साम्यवाद, समावेशीको उदाहरण । कसैका घर कसैभन्दा कम छैनन् । समान छन् । एकनासे छन् । सबैका बालबालिका एकैठाउँमा खेल्छन्, रमाउँछन् । कुनै बालबालिकाले उँचनिच महसुस गर्नुपर्दैन । बालबालिकाको वृद्धि विकासको दरिलो आधार पनि यही हो ।

सुन्तलीः नववर्षको सम्पूर्णलाई शुभकामना । सम्पूर्ण नेपालीको जीवन सुखमय बनोस् । देशको काँचुली फेरियोस् । २०७४ सालमा देश विकास भएको हेर्ने चाहना छ । एक अर्काप्रति सकारात्मक सोच विकास होस् । साँच्चै नै देश निर्माण भएको हेर्ने चाहना छ । देश विकासका लागि एक भएर बढौं । जागौं, लम्कौं, चम्कौं, नयाँ वर्षको शुभकामना छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्