इन्टरनेटबारे गुनासै गुनासा



रञ्जनहरि कोइराला,

काठमाडौं : सर्वसाधारण प्रयोगकर्ताले इन्टरनेटको गति कम भएको गुनासोसहित निवेदन दिएपछि अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्यो। प्राधिकरणले अख्तियारको पत्र पाएपछि सेवा प्रदायकलाई पत्र लेखेको छ।

गत जेठ २० मा लेखिएको अख्तियारको पत्रमा इन्टरनेट सेवा प्रदायक वल्डलिंक कम्युनिकेसन प्रालिले इन्टरनेटको गतिमा अनियमितता भएको भन्दै अनुसन्धान गर्न भनिएको छ। यो विषयमा प्राधिकरणले अनुगमन गरी प्रतिवेदन पेस गर्न पत्राचार गरेको थियो। अनुगमन शाखाले उक्त विषयलाई लिएर पत्रकाटेको भए पनि प्रतिवेदन आएको छैन।

यो त एउटा उदाहरण मात्र हो। इन्टरनेट प्रयोगकर्ताले इन्टरनेका विषयमा गर्ने गुनासो दैनिक बढ्दै गएको छ। ग्राहकको इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रदान गर्ने गरेको इन्टरनेटको ढिलो भयो भन्दै सबैभन्दा बढी गुनासो आएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार इन्टरनेट सेवा प्रदायकका विषयमा आउने सबैभन्दा ठूलो गुनासो इन्टरनेट गति कम भएको भन्ने नै हो।

उनले भने, ‘यो विषयलाई लिएर प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई पत्राचार गरिरहेको भए पनि यस्ता गुनासो आउन रोकिएको छैन।’ प्राधिकरणमा २०७४ सालमा ५१ वटा गुनासो दर्ता भएका छन्। प्राधिकरणका निर्देशक विजयकुमार राय एक वर्षको अवधिमा यतिमात्र गुनासो नभएको भन्दै गुनोसोको अभिलेख राख्ने यकिन स्थान, व्यक्ति र गुनासो फस्र्योटलगायत व्यवस्थापनमा देखिएको कमजोरीले तथ्यांक संकलन हुन नसकेको बताउँछन्।

प्राधिकरणमा २०७४ मा दर्ता भएका गुनासोलाई आधार मान्ने हो भने इन्टरनेटमा सेवा प्रदायक कम्पनीले इन्टरनेटको गतिमा अनियमितता गरेको, इन्टरनेट ढिलो चल्ने, बारम्बार बिग्रने गरेको, इन्टरनेट सेवाको गुणस्तर नराम्रो भएको, सेवा अवरुद्ध हुने गरेको जस्ता गुनासा आएका छन्।

आएको गुनासोलाई प्राधिकरणले सम्बोधन गरेको देखिए पनि सेवा प्रदायक कम्पनीबाट उक्त विषयमा कुनै प्रतिक्रिया भने आएको देखिँदैन। २०७५ को पहिलो चार महिनामा १३ वटा गुनासो आएकामा आधा इन्टरनेटका विषयमै आइसेकेको छ। इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुका सञ्चालक सुधीर पराजुलीका अनुसार प्राधिकरणमा आएका कतिपय गुनासोपत्र कम्पनीलाई पनि आएको छ।

‘पत्रका आधारमा ग्राहकको घरमा पुगरे हेर्दा देखिने समस्या भनेको राउटर तथा राउटर र ग्राहकबीचको दूरी हो’, पराजुलीले भने, ‘पहिलो समस्या राउटरमा छ। सेवा प्रदायक कम्पनीले दिने राउटरको क्षमता नै कम हुन्छ। त्यसैले हामी ग्राहकलाई वैकल्पिक राउटर प्रयोग गर्न पनि आग्रह गर्दै आएका छौं।’ कम्पनीले दिने राउटरको क्षमता कम हुने भएकाले वायरलेस अर्थात् वाइफाइको दूरी कम हुने, इन्टरनेट ढिलो हुने समस्या आएको हो।

इन्टरनेट प्रयोगकर्ताले इन्टरनेका विषयमा गर्ने गुनासो दैनिक बढ्दै गएको छ।

सेवा प्रादायक कम्पनीले सेवा प्रदान गर्दा २० एमबीपीएस भन्छन् अनि प्रयोग गर्दा पाँच एमबीपीएसको गतिमा पनि इन्टरनेट चल्दैन नि भन्ने प्रश्नमा वल्र्डलिंक कम्युनिकेसन प्रालिका कार्यकारी निर्देशक विजय जलानले यो समस्या वायरलेसमा देखिएको दाबी गरे।

नेपाल इन्टरनेट सेवा प्रदायक महासंघका पूर्वअध्यक्ष विनय बोहोरा लाखौंको संख्यामा एक दुईवटा गुनासो आउने स्वाभाविक भएको बताउँछन्। उक्त गुनोसोलाई सम्बोधन गर्न सेवा प्रदायक कम्पनीले पछिल्लो सयम ठूलो लगानी गरिरहेको बताएका छन्। तर, होम युजरको हकमा भने, इन्टरनेट सेवा प्रदायक कम्पनी एउटै इन्टरनेटलाई सेयर गर्ने सिस्टमले पनि समस्या सिर्जना गरेको अनुभव गर्न सकिन्छ। १ः८ का आधारमा कतिपय सेवाप्रदायकले एउटा इन्टरने बाँड्ने गरेको पाइएको छ। त्यसले बिहान तथा रातको समय अथवा इन्टरनेट प्रयोग गर्ने पिक आवरमा ग्राहकले आफूले पैसा तिरेअनुसार इन्टरनेट गति नभएको स्रोतले जनाएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्